बागलुङ २०७५ भदौ १५ । बागलुङ बजारमा जनैपूर्णिमा देखी दशैँ सम्म परम्परागत नाँचहरु (साँस्कृतिक कार्यक्रम) प्रदर्शन गर्ने समय मानिन्छ । यस बखत बागलुङ बजारमा विभिन्न नाँचहरु प्रदर्शन भैरहेका छन् । आज सम्ममा कटुवाल, रोपाईँ र जोगी नाँचहरु देखाई सकिएको छ । आज शुक्रबार प्रदर्शित जोगी नाँचमा महिलाहरुको सहभागित रोचक देखिन्थ्यो । विगत केहि वर्ष देखी जोगी नाँचमा महिलाहरुपनि सहभागी हुँदै आएका छन् । अस्ति बागलुङ सदरमुकाममा प्रदर्शन गरिएको रोपाई नाँच दुई/चार वर्ष यताको राम्रो भनि दर्शकहरुले टिप्पणी गरेका छन् ।
एकातिर यस अवसरमा प्रदर्शन गरिने परम्परागत नाँच गानहरुमा समयसापेक्षरुपमा परिवर्तन आएको देख्न सकिन्छ भने अर्कोतिर केहि वर्षयता माथी उल्लेखित नाँच गानहरु बाहेकका अन्य ऐतिहासिक नृत्य, नाटक, ठेट्टरहरु भने लोप हुँदै गएका छन् ।
हरिचौरमा प्रदर्शित रोपाई नाँच र लाखे नाँच । तस्वीर- दिनेश खत्री, हरिचौर गल्कोट ।
सदरमुकाम बाहिर गल्कोट हरिचौरमा परम्परागत रुपमा भदौरे (वर्षेँ) नाँचहरु वर्षेनी देखाईदै आएको छ । हरिचौरमा व्यवस्थित तरिकाले वर्षे नाँच प्रदर्शन गरिदै आएको स्थानीय संस्कृति प्रेमी दिनेश खत्रीले ईबागलुङलाई बताए । हरिचौरमा भदौ १० गते लाखे, भदौ ११ गते गाइ, १२ गते जोगी, १३ बाघ, १४ गते रोपाई र कटुवाल, नाँचहरु सम्पन्न भएका छन् भने आज बाघ नाँच प्रदर्शन गरिदै छ ।
बलेवामा देखार्इँएको लाखे नाँच । तस्वीर- लक्ष्मी नारायण श्रेष्ठ, बलेवा ।
उता बलेवा चौरमा (बानपा १४ नारायणस्थान) मा पनि लाखे नाँच प्रदर्शन गरिएको स्थानीय समाजसेवी लक्ष्मीनारायण श्रेष्ठले जानकारी दिएका छन् । बलेवा बाहेक बागलुङको दक्षिण भेग कुस्मीसेरा बजार सहित अन्य भागहरुमा भदौरे नाँचहरु हुने नगरेको सहकर्मी सन्ध्या आचार्यको भनाई रहेको छ ।
जिल्लाको सुदूर पश्चिम बुर्तिवाङ बजारमा यस समयमा वर्षे साँस्कृतिक कार्यक्रमहरु हुने नगरेको तर पछिल्लो समय तीजी कार्यक्रम भने भव्यरुपमा मनाईने गरेको सहकर्मी झरना कँडेलले जानकारी दिएकी छन् । नेवार वस्ती एकदमै कम भएका कारण भदौरे नाँचहरु नहुने गरेको स्थानीयको भनाई रहेको छ ।
साविक ग्वालिचौर गाविसको खार बजार भदौरे नाँचमा निकै प्रशिद्धी कमाएको स्थान हो । ०१४/०१५ साल तिर खार बजारमा देखाईने बाघ नाँच एकदमै चर्चिन नाँच मानिन्थ्यो । बाघनाँच हेर्न गुल्मी र बागलुङका आसपासका क्षेत्रबाट निकै ठुलो संख्यामा दर्शकहरु आउने गरेको स्थानीयको भनाई छ । तर पछिल्लो समय खार बजारबाट नेवार समुदायले बसाई सराईगरी गएपछी अहिले साँस्कृतिक कार्यक्रमहरु शुण्य प्राय: भएको स्थानीयको गुनासो रहेको छ ।
खार बजारसंग जोडिएको खाल बजारमा पनि यस समयमा फाट्ट फुट्ट एक दुई नाँच प्रदर्शन हुने गरेको सहकर्मी दिनेश शर्माले बताए । खाल बजारमा पनि नेवार समुदायका उपस्थिती कम हुँदै गएपछी साँस्कृतिक परम्पराहरु पनि लोप हुँदै गएको हो ।
शुक्रवार प्रदर्शित जोगी नाँचका केहि दृश्यहरु
कुसुम थिङ
प्रस्तुति: ईबागलुङ डेस्क ।