Sorry, that menu does not exist.
 

प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिवाङ भित्रको लापरबाही कस्ले हेर्ने ?

बुर्तिवाङ २०७५ भदौ २१ । बागलुङ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्य बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र भौतिक दृष्टिकोणले सुविधा सम्पन्न मानिन्छ । निसीभूजी क्षेत्रलाई समेट्ने यस स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालको सुविधा प्राप्त स्वास्थ्य केन्द्रको रुपमा लिईन्छ । यस केन्द्रमा पाँचजना डाक्टरहरुको सेवा उपलव्ध छ । सरकारी स्थायी दरबन्दी र करारमा गरी हाल केन्द्रमा २८ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

स्वास्थ्य केन्द्रमा रहेका पाँच जना डाक्टरहरुमध्य डा सुनिल जयसवाल अध्ययन बिदामा गएको श्रोतले बतायो । डा जयसवाल १२ महिनामा ७ महिना बिदामा बसेर त्यसक्षत्रमा चर्चा कमाएका डाक्टर हुन् भने हाल केन्द्रमा डा मिलन मल्ल ठकुरी, डा विजय श्रेष्ठ, डा दिलिप जोशी र डा लक्ष्मी अर्याल कार्यरत रहेका छन् । चार चार जना डाक्टरहरुको उपस्थिति रहेको स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा भने सन्तोष जनक नरहेको त्यस क्षेत्रका जनताको आवज रहेको छ ।

गतहप्ता मात्रै झाडापखलाले ग्रसित (सिरियस) बच्चालाई लिएर स्वास्थ्य केन्द्रमा उपचार गराउन पुगेका बडीगाड गाउपालिका ७ का एक दम्पति (बच्चाका आमाबाबु) का साथै निसीखोला गाउपालिका १ देविस्थानका एक युवक प्रति डा मिलन मल्ल ठकुरीबाट गरिएको अशिष्टताले केन्द्र चर्चामा छ । उपचारमा आएका सेवाग्राहीप्रति डाक्टर आक्रामक होईन सरलरुपमा प्रस्तुत भएर उनीहरुको पीडामा मल्मह लगाउन पर्छ नकि हप्की दप्की स्थानीयहरु भन्छन् । डाक्टरहरुबाट विरामीहरुले मायालु व्यवहारको आशा गरेका हुन्छन तर त्यस्को उल्टो हप्काउने थर्काउने तर्साउने व्यवहारले गर्दा सेवाग्राहीको मनमा ठेस पुग्नु स्वभाविकै हो । एकातिर यस्तो दुव्र्यवहार केन्द्रबाट भैरहेको चर्चा बुर्तिवाङमा छ भने अर्कोतिर स्वास्थ्यकर्मीहरु स्वास्थ्य केन्द्रमा भन्दा बजारका निजी स्वास्थ्य संस्थाहरुमा क्रियाशील रहेको आरोप स्थानीयले लगाउदै आएका छन । यति मात्र होईन, पछिल्लो समय प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको व्यवस्थापन समितिले जिम्मेवारी वहन गर्न नसक्नाले केन्द्र अस्तव्यस्त हुन पुगेको संगिन आरोप पनि लाग्दै आएको छ ।

गत असार महिनामा विभिन्न सन्चार माध्यमहरुले स्वास्थ्य केन्द्र भित्रको आर्थिक चलखेल र डा जयसवालको लापर्बाहीलाई लिएर प्रकाशित समाचारहरु प्रति व्यवस्थापन समितिको गम्भीर ध्यानाकषृण हुनुपर्नेमा उल्टै केन्द्रमा भए गरिएका कृयाकलापहरुलाई ढापछोप गर्न एकीकृत सेवा केन्द्रका प्रमुखलाई विशेष उपस्थितिमा हस्ताक्षर गराएर पछी जुन निर्णय माईन्यूट गरेर कुनै सन्चारमाध्यम प्रति विष वमन गरियो त्यो व्यवस्थापन समितिको गलत कार्य हो भन्ने आम टिप्पणी भैरहेको छ । अहिले नेपाल बैँकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ नामको खाताबाट दुई पटक गरी रु ५ लाख रकम निकालिएको व्यापक चर्चा बुर्तिवाङमा चलेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पोखरेल संग यस विषयमा सम्पर्क गर्दा उनले अघिल्लो साउन महिनाबाट स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको तलब आदि नगरपालिकाबाटै दिईने गरेको जानकारी दिँदै माथी उल्लेखित रु ५ लाखको चेक नगरपालिकाबाट नकाटिएको स्पष्ट पारे । उनका अनुसार त्यो स्वास्थ्य केन्द्रको आफ्नै खाताबाट झिकिएको हुन सक्छ ।

स्वास्थ्य केन्द्रमा उपचारार्थ आउने विरामीहरुबाट उठाईने विभिन्न शुल्कहरुको रकम यस खातामा जम्मा गरिने र आवश्यकता अनुसार व्यवस्थापन समितिको निर्णयले स्वास्थ्य केन्द्रको विकासमा खर्च गरिनु पर्ने हो तर व्यक्तिगत हिसावले रकम झिकिईएको स्वास्थ्य केन्द्र श्रोतले ईबागलुङलाई बतायो ।

श्रोत भन्छ, स्वास्थ्य केन्द्रमा भब्रेटाबाट पानी ल्याउन र विजुलीको बिल तिर्न भनी समितिलाई जानकारी नै नदिई बैशाख ८ गते देखी असार महिनाको वीचमा रु ५ लाख झिकिएको हो । समितिका सदस्यहरुवीच यस रकमलाई लिएर गाईँ गुई चलेपनि समितिको बैठकमा यसबारे कुनै निर्णय भएको छैन । उता रकम निकाल्नेहरु भने नक्कली बिलहरु बनाएर समितिबाट निर्णय गराई फस्र्यौट गर्ने दाउमा रहेको चर्चा बाहिर आएको छ । व्यवस्थापन समितिका सदस्यहरु यस गलत कार्यलाई अनुमोदन गरेर भ्रष्टाचारमा सहभागी नहुने विश्वास बुर्तिवाङवासीको छ । उनिहरु बिलको सत्यता जाँचियोस भनिरहेका छन् ।

एकातिर बैक खाताम जम्मा भएको रकम यसरी सुटुक्क झिकेर दुरुपयोग गरिएको छ भने अर्कोतिर दिनदिनै स्वास्थ्य केन्द्रमा उठ्ने सहयोग रकम पनि बैँक खातामा जम्मा नगरी आफु खुसी हिनामिना गरिदै आएको केन्द्रका कर्मचारीहरु बताई रहेका छन् । सेवाग्राहीहरुबाट सहयोग रकम उठाउन राखिएका कर्मचारीलाई बुझे यस सम्वन्धमा बास्तविकता बाहिर आउने उनिहरुको भनाई छ । दिनहुँ उठ्ने रकम क कसले आफु खुसी खर्च गरिरहेका छन ? यस सम्वन्धमा समयमै छानविन नगर्ने हो भने ‘धान खाने मुसो चोट पाउने भ्याकुतो’ हुनसक्ने खतरा श्रोतले औँल्यायो ।

स्वास्थ्य केन्द्रको भवनमा सुत्केरी महिलाहरुलाई बस्नको लागि स्थानाभाव भएको भनी फेयर मेड सँस्थाले ढोरपाटन नगरपालिककामा पत्राचार गरेपछी स्वास्थ्य केन्द्रका कोठाहरुमा बस्दै आएका कर्मचारीहरुलाई कोठा खाली गर्न नगरपालिकाले २ हप्ता पहिले पत्राचार गरेपनि उनिहरुले कोठा छोडेका छैनन् ।

स्वास्थ्य उपचारमा निसीभूजी क्षेत्रका हजारौँ जनताको आशाको केन्द्र रहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ भित्रको लापरबाहीलाई कस्ले हेर्ने ? निसीभूजीका जनताको प्रश्न छ ।

विगत दुई वर्ष देखी स्वास्थ्य केन्द्रको लेखा परीक्षण भएको छैन । नगरपालिकाले अबिलम्व लेखापरीक्षण गरोस भन्ने आवाज यस क्षेत्रामा चकिएको छ । स्वास्थ्य केन्द्रको नाममा नेपाल बैँकमा रहेको खाताको तत्काल सरोकारवाला निकायले छानविन गरोस भन्ने स्थानीयवासीको माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply