हेटौडा, २०७५ भदौ २५ । मकवानपुरको मनहरी गाउँपालिका ४ हाँडी खोला स्थित जंगलमा बस्दै आएका देशकै लोपोन्मुख बनकरिया जातीलाई शनिबार तीजको दर खुवाइएको छ । हेटौंडाको रेडियो सरोवर ९२.५ मेगाहर्जले बनकरिया बस्तीमा पुगेर २५ घरधुरीका करिव १०० जना बनकरियालाई दर खुवाएको हो ।
पछिल्लो समय १ महिना अघिदेखि नै शहर(बजारमा गहना प्रदर्शन गर्दै भड्किलो तीज कार्यक्रम गर्ने चलन बढेकाले त्यसको निरुत्साहित गर्दै अहिलेको नया पुस्तालाई दर भनेको देखाउनका लागि नभई आफु संग जे जस्तो छ, त्यहि हाँसी/खुसी साथ एकैठाउँमा रमाइलो गर्दै मनाउने परम्परा हो भन्ने चेतना दिनकालागि कार्यक्रम गरेको एफएमका स्टेसन म्यानेजर राजु लामिछानेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्का आफ्नो वडाका बनकरियालाई एकै ठाउमा भेला भएर दर खादै रमाइलो गरेको पहिलोपटक भएको बताए । पछिल्लो समय भड्किलो बन्दै गएको तीज पर्वमा बन्करियालाई दर खुवाउदै तीजका गीतमा नचाउनु निकै उदाहरणीय काम भएको खड्काको भनाई थियो । साथै आफ्नो वडामा देशकै लोपोन्मुख जातिको बस्ती रहेकाले यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने पनि उनले बताए ।
बनकरिया को हो ?, पुर्खा को हो ? खानपिन कस्तो हुन्थ्यो ? आदी विविध कुराहरुबारे सबैलाई थाहा दिन वडामा म्युजियम बनाउने, बनकरिया बस्तीमा आएका पाउनालाई यहिको रहनसहनमा बस्नाकालागी होमस्टेको व्यवस्था गर्ने, पिकनिक स्पोट बनाउने लगाएतका कार्यकालागी आफु लागिपरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
बनकरिया बस्तीकी प्रमुख सन्तमाया बन्करियाले आफ्नो बस्तीमा आएर दर खुवाउदै रमाइलो गरिदिएकोमा आफुहरु निकै खुसी भएको बताएकी थिईन । आफुहरुले यो भन्दा अगाडी सबैजना संगै बसेर दर खादै कहिल्यै तीज नमनाएको र यसबर्षको तीज बन्करियाले सधै सम्झिने भन्दै खुसी व्यक्त गरिन् ।
यसै कार्यक्रममा सन्तमायाले आफुहरुलाई सरकारले यस बस्तीबाट हटाउन नसक्नेपनि दाबी गर्दै भनिन् ’मुख्य मन्त्री आएर हामीलाई अन्तै लान्छौ भन्नुभयो, तर हामी जादैनौं, यदि जानैपर्छ भने सबैले फेरी जंगल भाग्ने भनेका छौँ’ । आफुहरुलाई राज्यले १०/१० कट्ठा जमिन आफ्नो नाममा गरेर दिन्छ भने घर आफै बनाएर सरकारले भनेकै ठाउमा गएर बस्न तयार रहेको बनकरियाको भनाइ छ ।
मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यव्दय गोमा गौतम र सृजना सुनार, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पशुपति प्राथमिक विद्यालयका अध्यक्ष माधव गौतम, पत्रकारहरु रोशन पराजुली, श्रीराम अर्जुन, अशोक सुजन श्रेष्ठ तथा वनकरिया समुदायको उपस्थिति रहेको थियो ।
नेपालकै लोपन्मुख जातीको रुपमा रहेका ’वनकरिया’ मनहरीको ४ स्थित जंगलमा २५ घरघुरीमा रहेका छन् ।