बागलुङ २०७५ भदौ २५ । सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्मले हरितालिका तीजको शुभ अवसरमा आयोजना गरेको दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै नगर कार्यपालिका सदस्य कमला ढकालले तीज पर्वलाई संरक्षण गर्न सबैको योगदान हुनुपर्ने बताईन्। तीजको मौलिकता हराउॅदै भएको भन्दै त्यसमा सबै सचेतहुनुपर्ने ढकालको भनाई थियो ।
लोपोन्मुख कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गल्कोटको पहिचान भन्ने मुल नाराका साथ आयोजित दरखाने तथा नाचगान कार्यक्रममा गल्कोट प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, गल्कोट नगरपालिका वडा नं ७ का महिला सदस्य मिना दर्जी, महिला जागरण केन्द्र मल्मका उपाध्यक्ष थुम कुमारी थापा, गल्कोट नगरपालिका वडा नं ५ का महिला समाजसेवी विष्णु कॅडेलले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नगरपालिका भित्रका महिला जनप्रतिनिधी, महिला समाजसेवी, वडा नं ७ भित्रका महिला समुहमा आवद्व दिदीबहिनीहरु, समाजसेवी, शिक्षक बुद्विजीवी गरि झण्डै ३०० जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा महिला दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउने कार्य समेत सम्पन्न गरिएको थियो । सो अवसरमा कार्यक्रम प्रायोजक गल्कोट नगरपालिका ७ मल्म हाल पोखरा निवासी जमुना थापा र अनिता थापालाई सम्मान गरिएको थियो । दरखाने कार्यक्रममा महिला दिदीबहिनीहरुले मौलिक गीतमा खुल्ला सामुहिक नाचगान समेत गरेका थिए । दरखाने कार्यक्रम समाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, सदस्य टिका साहानीको स्वागत र सदस्य ज्योति थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।