प्रेम सुनार गुल्मी २०७५ भदौ २५ । राणा र पञ्चायत कालीन फटाहहरुले गरिव र सोझा साझी माथी गर्ने कर्तुत अझै पनि समाजमा यथावत रहेको समाचार प्राप्त भएको छ । हामीलाई प्राप्त कागजात र सुचना अनुसार प्युठानका एक ब्यक्तिले गुल्मीका एक अनपढ बृद्धलाई जम्मा ६ हजार रुपैयाँ दिएर १० लाखको तमसुक बनाई उनको घर जग्गाको बन्दकी पास गरेका छन ।
प्युठानको साविक वादीकोट गाविस वडा नम्वर ७ का रेकमबहादुर खत्री क्षेत्रीले गुल्मीको मदाने गाउँपालिका वडा नम्वर ६ , घिउपानीका ७८ बर्षिय बृद्ध ज्ञानबहादुर घर्ति क्षेत्रीलाई भदौ ५ गते जिल्ला मालपोत कार्यालय गुल्मीमा यस्तो जालसाजी गरेका हुन ।
रेकमबहादुरले यस्तो जालसादी गर्दै छन भन्ने थाह पाउन साथ ज्ञानबहादुरकी बुहारी गिता घर्तिले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत उक्त कार्य रोक्न खोज्दा पनि निजले बेदामी कागज गराई जग्गा पास गराउन सफल भएका थिए ।
रेकमबहादुरलाई उक्त जालसाजी गर्न सघाउने मुख्य ब्यक्तिहरु गुल्मी कै पुर्कोटदहका चिन्तबहादुर कुँवर र ताकमान थापा रहेका छन । बृद्धकी श्रीमतीको मृत्यु भएकोले उनि छोराहरु संग छुट्टिएर एक्लै बस्दै आएका थिए । दुई छोराहरु मध्ये जान्ने बुझ्ने एक छोरा बिदेश थिए ।
यस्तो अवस्थाको सोझा बृद्धहरुलाई आफन्त पर्ने चिन्ताबहादुर र ताकमानले तिमीलाई रेकमबहादुरले जीवनभर पाल्ने , स्याहार सुसार र विरामी परे उपचार गरी दिने लगायतको प्रलोभन देखाउँदै छोराहरुलाई अंशविहीन गराउने प्रपञ्ज रचेका थिए ।
उनिहरु तमसुकमा साँछी मात्रै बसेनन, घर्तीलाई तम्घास ल्याउन र जग्गा पास गराउने कार्यमा समेत सक्रिय भएका थिए । उनिहरु दुई जना संग सम्पर्क राख्दा आफुहरुले उनिहरुको लेनदेन भएको आफुहरुलाई थाह नभएको , भनाईको आधारमा मात्र हस्ताक्षर गरेको बताए ।
बृद्धलाई फकाई फुलाई अपहरणको शैलीमा चोरबाटो प्रयोग गरी तम्घास ल्याई होटलमा राखेर मासु रक्सी खुवाउँदै थप प्रफुल्लित पारेर १० लाख रुपैयाँको तमसुकमा औठा छाप लगाउन लगाई १० बर्ष भित्र उक्त रकम बुझाउन नसके जग्गा पचक हुने गरी र. नं.२०४ को दृष्टि पास गराईएको थियो ।
१० लाख तपाईले बुझेकै हो भनेर मालपोत अधृकृतले सोद्धा हो भन्नु शब्द बोल्न लगाई मालपोत अधिकृत खुपबहादुर केसीलाई हस्ताक्षर गर्न लगाईएको थियो । मालपोत अधिकृत केसी भन्छन–‘ मैले सोद्ध ती बृद्धले उक्त रकम ऋण लिएको हो भन्दा , हो भने पछि हस्ताक्षर गरेको हुँ । ’
यस सम्वन्ध उनै रेकमबहादुर खत्री संग सम्पर्क राख्दा उनले घर्तीलाई २०६९ सालमा ४ लाख दिएको, २०७३ सालमा ३ लाख दिएको र २०७४ सालमा १ लाख ५० हजार दिएको र १ लाख ५० हजार ब्याज जोड्दा १० लाख लिनु पर्ने तमसुक गरिएको बताए ।
कुनै नगद आय श्रोत नभएको, छोराहरु संग सोधपुछ नगरी किन कुन प्रयोजनका लागि ऋण दिनु भयो त ? भन्ने प्रश्नमा उनले भने नाता गोता मार्फत दिएको हुँ । पहिलो चोटी ४ लाख दिएको बताउने खत्रीले त्यो रकम अशुल हुन नसक्दै फेरी ३ लाख र डेढ लाख दिएँ भन्नु आफैमा षडयन्त्र देखिन्छ ।
उनी आफैले गुल्मी तर्फ थप २० लाख जति अरु विभिन्न ब्यक्तिलाई पनि ऋण दिएको बताएका छन । बढि मात्रमा बिदेश जानेहरुलाई पनि ऋण दिने गरेको छु’–उनले भने–‘ ऋण दिने कारोवार गर्ने गरेको छु । र्घिर्तको ६० रोपनी मध्ये १० रोपनी मात्रै मैले लिएको हुँ । ’
ती बृद्धले आफुलाई यस अघि खत्रीले कुनै पैसा नदिएको, तम्घास आएर ६ हजार रुपैयाँ दिएको र बाँकी रकम आबश्यकता अनुसार बेला बेलामा आफुलाई दिने गरी फकाए पछि आफुले हस्ताक्षर गर्न मानेको बताए । उनले उक्त जग्गा पास गर्ने कुरामा आफुलाई थाह नभएको बताएका छन ।
उनले बन्दकी लिएको जग्गा सालझण्डी ढोरपाटन सडक छेउँको महंङ्गो मुल्य पर्ने स्थानमा छ । अरु बाँकी जग्गा खर ख¥यान मात्रै रहेको उनका जेठा छोरा कृष्ण र कान्छा पदम घर्तीले बताए । हामीहरु अब सुकुम्वासी बन्दै छौं, अरु जग्गा हाम्रो नाममा छैन । हाम्रो अंश बेचि दिए बाबाुले, यस बाट बचाई दिनु प¥यो , उनिहरु दुबै भाईले भनेका छन ।
रातौरात ती बृद्धलाई जिल्ला मालपोतमा लगेर उक्त जग्गा पास गराएको थाह पाउन साथ विदेशमा रहेका उनका छोरा . विदेशबाट घर अए । उनले विप्लव नेतृत्वको नेकपा माओवादीका स्थानिय नेता वसन्त गैरे संग सम्पर्क राखे । त्यतिले पनि नपुगेर सो पार्टीका जिल्ला पार्टी सेक्रेटरी खिम खड्कालाई भेट्न तम्घास आए ।
सेक्रटरी खड्का संगको भेट र आफु विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको थाह पाउन साथ राष्ट्रिय जनमोर्चाका केहि स्थानिय नेताहरुलाई लिएर रेकमबहादुर सदरमुकाम खलाङ्गका तर्फ बचाउका लागि हिडेको खबर पनि आयो । त्यस लगत्तै विप्लव माओवादीको टोलीले स्थानिय स्तरमा खोज तलास गर्ने क्रममा खत्री अर्ध भुमिगत बनेका छन ।
खड्काका अनुसार तमसुकमा साँछी बस्ने तकमान थापा र चिन्तामणी कुँवर नियमित सो पार्टीको सम्पर्कमा आएको र आफुहरुबाट गल्ती भएको तर अब आईन्दा गल्ती नगर्ने , उक्त जग्गा फिर्ता गराउनमा सहयोग गर्ने बताएका छन ।
यस सम्वन्धमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल संग सम्पर्क राख्दा उनले जग्गा अर्कोलाई दिनुमा ती बृद्धमा पनि लालच देखिएको प्रतिकृया दिए । आफुले पैसा पाउने कुरामा ती बृद्ध प्रलोभित भएको देखिन्छ उनले भने –‘ ती मतियार दुई जनालाई बोलाएर निगरानीमा बस्न लगाईएको छ , खास दोषि खत्रीलाई खोजी कार्य जारी छ । यस घटना प्रति प्रशासन गम्भीर छ । छिट्टै सवै जनालाई सम्पर्कमा ल्याएर छलफल गराईने प्रजिअ पौड्यालले बताए ।