Sorry, that menu does not exist.
 

साताको तस्वीर : बागलुङमा बाल दिवस !

शव्द/चित्र : कुसुम थिङ/अर्जुन ढकाल/झरना कँडेल

बागलुङ २०७५ भदौ २९ । राष्ट्रिय बाल दिवस मुल समारोहको अवसरमा आज भदौ २९ गते विहान बागलुङ सदरमुकाममा प्रभातफेरी गरिएको छ । जिल्ला बालकल्याण समितिको आयोजनामा सुखी नेपाली सम्वृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराकासाथ विद्यार्थीहरुको व्यापक सहभागितामा जुलुसले नगरपरिक्रमा गरेको हो । स्थानीय समीक्षालय चोक देखी सुरु भएको जुलुस नगर परिक्रमा पश्चात नेपाल बाल संगठनमा पुगेपछी सभामा परिणत भएको हो ।

राष्ट्रिय बाल दिवस मुल समारोह समितिका अध्यक्ष (जिल्ला बाल कल्याण समितिका अध्यक्ष) एवं प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षता भएको सो सभाको जिल्ला समन्वय समिति बागलुङका कावा प्रमुख विष्णु भुषालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
नेपाल बाल संगठन बागलुङका अध्यक्ष सुभास आचार्यको संयोजनमा भएको यस सभामा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपक रेग्मी, शिक्षा विकास समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्याय लगायत सरोकारवाला कार्यालय, विभिन्न संघसंस्थाहरु एव विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आयोजित सभामा प्रमुख अतिथी जिल्ला समन्वय समितिका कावा प्रमुख भुसाल, प्रजिअ खरेल, बागलुङ नगरपालिकाका कार्यकारी प्रमुख भीमबहादुर कुँवर, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुस्मराज उपाध्याय, अधिवक्ता हरिप्रसाद शर्मा, समाजसेवीहरु देवबहादुर श्रेष्ठ, केबि राना मगर, सेतो गुराँश बाल विकास केन्द्रकी विना कार्की पन्त, साहित्यकार काजी रोशन, विद्यार्थीका तर्फबाट निर्मला कार्की र मनिषा पाठक लगायतले बाल दिवसको महत्वका सम्वन्धमा प्रकाश पारेका थिए ।

‘आईतबार बिहान…’ गीतको बोलमा नृत्य गर्ने गुराँश शिक्षा सदनको कक्षा २ मा अध्ययनरत श्रद्धा क्षेत्री ।

कार्यक्रममा स्वागत मन्तव्य बाल संगठनका अध्यक्ष सुभाष आचार्य र कार्यक्रम सन्चालन बाल सन्जालका अध्यक्ष गोविन्द गौतमले गरेका थिए ।
कार्यक्रमको वीच वीच बालबालिकाहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए । स्थानीय गुराँश शिक्षा सदनमा कक्षा २ मा अध्ययनरत सात वर्षिया श्रद्धा क्षेत्रीले ‘आईतबार बिहान ….’ बोलको गीतमा प्रस्तुत गरेको नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको दर्शकहरुले बताए । सोहि कार्यक्रममा बालमन्दिरकी छात्रा राखी चौधरीको नृत्य प्रस्तुतिले राम्रै मनोरन्जन दिएको थियो ।

दुई दिवसीय कार्यक्रमहरु गरी भव्यरुपमा मनाईएको राष्ट्रिय बालदिवसको पहिलो दिन बागलुङ उद्योग वाणिज्य संघको भवनमा एक अन्तरक्रिया कार्यक्रम गरिएको अधिकृत लक्ष्मी शर्माले ईबागलुङलाई बताईन् ।

यसैगरी बागलुङ जिल्लाका विद्यालयहरुमा राष्ट्रिय बाल दिवसका कार्यक्रमहरु मनाईदै गरेका समाचारहरु प्राप्त भैरहेका छन् । जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजारमा आज विहान प्रभातफेरी गरी राष्ट्रिय बाल दिवस समारोह मनाईएको छ ।

बुर्तिवाङ स्थित तीन बोर्डिङ स्कूल new modern academy, Janata secondary english boarding school र Riverhead international academy को आयोजनामा भएको प्रभातफेरीमाबाल अधिकारका विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका सयौँ विद्यार्थी शिक्षकहरुको सहभागिता रहेको जुलुसले बुर्तिवाङ बजारका विभिन्न भागहरु परिक्रमा गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply