सुमन सुनार, बुर्तिबाङ २०७५ भदौ २९ । ढोरपाटन नगरपालिका कार्यालय कृषि शाखाका योजना अधिकृत होम बहादुर थापालाई आज एक कार्यक्रमका विच विदाई गरिएको छ ।
विगत एक वर्ष देखी ढोरपाटन नगरपालिका कार्यालयमा कृषि शाखामा कार्यरत अधिकृत थापा सरुवा भई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफी सुपरजोन कार्यक्रम गुल्मी तम्घासमा जानेभएपछि आज उनलाई नगरपालिका कार्यालयले विदाई गरेको हो ।
विदाई भएर जान लागेका अधिकृत थापालाई खादा, अविर लागाएर मायाँको चिनो प्रदान गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बिदाई गरेका थिए । नगरप्रमुख नेपालीले एक वर्षको छोटो समयमा पनि कृषी क्षेत्रको विकासमा निकै प्रभावकारी काम गरेको भन्दै अधिकृत थापाको कार्यकुशलताको प्रसंशा गरे । उनले जहाँ गएपनि जनताको हितमा काम गर्न समेत अधिकृत थापालाई आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत दिए ।
यस्तै कार्यक्रममा बोल्दै अधिकृत थापाले ढोरपाटन नगरपालिका कार्यालयमा १ बर्ष भन्दा बढि कृषि शाखाको अधिकृतको रुपमा कार्यरत रहदा आफ्नो कार्यकाल अविस्मरणीय बन्न पुगेको बताए । कतिपय क्षेत्रमा जनप्रतिनिधि र कर्मचारी विचको तालमेल नमिल्दा राम्रो काम हुन नसकिरहेको अवस्थामा आफुले भने त्यस्तो महसूस नगरेको भन्दै कृषि क्षेत्रमा काम गर्दा आफुले जनप्रतिनिधिहरुको भरपुर साथ पाएको खुलासा गरे ।
विदाई कार्यक्रममा ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुन, लेखा अधिकृत अमृत प्रसाद पौडेल, आयुर्वेद कविराज निरिक्षक हरिलाल पाध्या, कृषि प्राविधिक महेन्द्र अधिकारी, बुर्तिबाङ नयाँ सहरी विकास आयोजनाका प्रमुख प्रविण अधिकारी, एन.एम. वि. बैंक बुर्तिबाङ शाखाका प्रबन्धक प्रकाश अर्याल, ईन्जिनियर प्रमुख नारायण पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन पशु शाखाका प्रमुख खुमानन्द पोखरेलले गरेका थिए ।