सुमन सुनार, बुर्तिबा २०७५ असोज ४ । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । २०७२ साल साउन ३ गते तत्कालिन संविधानसभाबाट संविधान जारी भएको सम्झनामा आजको दिनलाई संविधान दिवसको रुपमा मनाइने गरिएको छ ।
यसैवीच पश्चिम बागलुङको ढोरपाटन नगरपालिका अन्तर्गतका सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरुमा दीप प्रज्वलन गरी संविधान दिवस मनाईएको छ । यसै क्रममा ढोरपाटन नगरपालिकाको कार्यालयले पनि चियापान कार्यक्रम तथा कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।
संविधान दिवस विशेष उक्त कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले संविधान दिवस मनाउन पाउनु सबै जनताका लागि खुशीको बिषय भएको बताउनुभएको छ । नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने उनले बताए ।
नगर प्रमुख नेपालीले संविधानसभाबाट ९० प्रतिशतभन्दा बढीको समर्थनमा जारी ‘नेपालको संविधानको सफल कार्यान्वयन गरी देशलाई समृद्धि तर्फ जैजान मन, वचन, र कर्मले सबै समर्पित हुनुपर्ने बताए । साथै नगरप्रमुख नेपालीले दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस भन्ने कामनासमेत व्यक्त गरे ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी, स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, पत्रकार लगायतको विशेष उपस्थीती रहेको थियो ।
नगर प्रमुख नेपालीको अध्यक्षता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक ओम प्रकास यादव, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक राजु लामा, नेपाल कम्युनिष्ट पार्टिका तुल्सीराम अर्यालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले गरेका थिए।