Sorry, that menu does not exist.
 

सदरमुकाम र आसपास, बढ्यो जुवातास : जुवाडेका परिवारबाटै प्रशासनमा उजुरी !

बागलुङ २०७५ असोज ७ । चाडपर्वको मौसम सुरु भएसँगै जुवातासको चर्चापनि सुरु भएको छ । लामो समय देखी सदरमुकाम र आसपासका क्षेत्रहरुमा जुवातास र अवैध घरेलु मदिरा उत्पादन, सेवन र बेचबिखन सम्वन्धी घटनाहरु शुन्यप्राय: रहेको अवस्थामा हाल बजार र यस आसपाकका क्षेत्रहरुमा जुवातासका खालहरु बढीरहेको चर्चा सुनिन थालेको छ ।

घरमुली नै रातदिन जुवातासमा तल्लीन रहेर खानबस्न समेत घरमा नआएपछी परिवारहरु आजित परेर आफ्ना पुरुष (घरमुली)लाई यस कुलतबाट रोक्न आफन्त, छिमेकी शुभचिन्तकहरुलाई हार गुहार गर्दा समेत केहि नलागेपछी प्रशासनमा गुनासो लिएर पुग्ने गरेको रहस्य खुलेको छ ।

पछिल्लो समय जुवातास खेल्ने, खेलाउनेहरुको संख्या बढ्दै गएपछी धेरैको घरपरिवारको अवस्था बिग्रिदै गएकोले स्थानीय प्रशासन र प्रहरीले पनि यसतर्फ ध्यान केन्द्रित गरेको बुझिएको छ ।

जुवातासबाट आफ्नो परिवार तहसनहस भएको भन्दै केहि महिलाहरु प्रशासनमा गुनासो गर्न आएको चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले श्रीमती र छोराहरु आएर जुवाको कुलतमा फसेका आफ्ना श्रीमान र बुबालाई कार्बाही गरिदिन समेत आग्रह गरेको बताए । उनले जुवातास नियन्त्रण गर्न निर्देशन दिएको बताउदै जुवाडेहरुलाई कार्बाही गरेरै छोड्ने चेतावनी समेत दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टसंग पछिल्लो समय बागलुङ बजार र आसपासमा जुवातास खेल्नेहरुको संख्या बढेको बारे जिज्ञासा राख्दा आफु केहि समय पहिले मात्र बागलुङ आएकोले यसबारे आफुले बुझ्ने बताए । यस प्रकारका घटनाहरु भए प्रहरीलाई सूचित गर्न वा सिधै प्रहरीमा आएर जानकारी दिन प्रहरी उपरीक्षक भट्टको आग्रह थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply