गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज १४ । आगामी कात्तिक पहिलो हप्तादेखि गल्कोटमा हुने गल्कोट महोत्सव २०७५ मा सर्वाधिक पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले कात्तिक ९ गतेदेखि १८ गतेसम्म आयोजना गरिने गल्कोट महोत्सवमा सार्व्धिक पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएका छन् ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र व्दितिय पुरस्कार ६६ हजार ६ सय ६६ राखिएको अध्यक्ष श्रेष्ठले ईबागलुङलाई बताए । नेपालको राष्ट्रिय खेल भलिबल गल्कोटमा चर्चित भएका कारण महोत्सवमा भलिबल खेल समावेश गरिएको श्रेष्ठको भनाई थियो ।
गल्कोट नगरपालिका भित्रका प्रत्येक वडाका कुना, काप्चामा गठित क्लबहरु भलिबल खेललाई पहिलो प्राथमिकताका साथ सञ्चालन गर्दै आईरहेको अवस्थामा उनिहरुलाई खेलतर्फ आकर्षित गराउन ठुलो राशिको खेल आयोजना गरिएको श्रेष्ठले बताए । खेलमा सहभागी भएर मात्रै होईन हेरेर पनि खेल सम्बन्धित जानकारी लिन सकिने भन्दै श्रेष्ठले यस खेलबाट गल्कोटमा उत्पादन भईरहेका खेलाडीहरुलाई माथिल्लो तहसम्म पुग्न मदत पुग्ने बिश्वास ब्यक्त गरे ।
यसैबीच, महोत्सवमा महिला भलिबल प्रतियोगिता समावेश गरिनु पर्ने खेलाडीहरुको माग रहेको छ । महोत्सवमा आयोजना गरिने खेल प्रतियोगितामा महिलाहरुको सहभागितालाई उच्च प्राथमिकता दिईनु पर्ने कुरामा आयोजकले ध्यान जानु आवश्यक रहेको उनीहरुको भनाई छ ।
त्यस्तै ५० हजार ५ सय ५० राशिको खुल्ला लोकदोहोरीगित प्रतियोगिता सञ्चालन गरिने बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताए । व्दितिय हुनेले ३० हजार ३ सय प्रात्त गर्ने गौतमको भनाई छ । उक्त प्रतियोगितामा जिल्ला बाहिरबाट सहभागी हुने समुहलाई २ हजार भत्ताको ब्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय कम मात्रामा आयोजना हुने लोकदोहोरी गीत प्रतियोगिता भने उद्योग बाणिज्य संघले आयोजना गर्ने प्रत्येक कार्यक्रममा समावेश गर्ने गरेको छ । महोत्सवमा भलिबल पछिको आकर्षण प्रतियोगिता लोकदोहारी गीत रहेको संस्थाका महासचिव हेमन्त भण्डारीले बताए ।
महोत्सवमा सहभागी मध्ये अधिकांशको रोजाई लोकदोहोरी गीत हुने गरेको छ । खुल्ला प्रतियोगिता भएका कारण कम समुह सहभागी हुने र नेपालमै चर्चा कमाउन सफल प्रतियोगि सहभागी बन्ने गरेका कारण प्रतियोगिता आकर्षण बन्दै गएको छ ।