सुनसान छ, साल्ट ट्रेडिङको सुपथ मुल्यको पसल !
कुसुम थिङ, बागलुङ २०७५ असोज २५ । दशैँ आई सक्यो, आज नवदुर्गाको दोश्रो दिन, सबैका घरघरमा विभिन्न प्रकारका मिष्ठान्न परिकार बनाउने हतार छ, तर यसको लागी नभै नहुने चीनीको अभावले उपभोक्ताहरु महंगीको चपेटामा परेका छन् । साल्ट ट्रेडिङले चीनीको मुल्य कायम नभएकोले बिक्री गर्न नसकिएको जनाउ दिई रहेको छ । बजारमा चीनी प्रति केजी ८०।८५ रुपयाँ सम्म तिरेर किन्न उपभोक्ताहरु बाध्य छन् ।
दशैँ तिहारको अवसरमा नेपाल साल्ट ट्रेडिङले सदरमुकाम बागलुङ बजारमा चीनी र नून बिक्रि गर्न सुपथ मुल्यको पसल सन्चालनमा ल्याउने गरेको छ । यस वर्षपनि दशैँतिहारलाई लक्षित गरी असोज २१ गते देखी सुपथ मुल्यको पसल सन्चालनमा ल्याईएको साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । तर यस पटक गत वर्षहरुमा जस्तो कुनै औपचारिक कार्यक्रम बिना नै पसल सन्चालनमा ल्याईएको उनले ईबागलुङलाई बताए ।
उनले चीनीको मुल्य कायम नगरिएकोले हाल पसलबाट नून मात्र १८ रुपयाँ पोका बिक्री गरिएको जानकारी दिए । कहिले सम्म आउँछ त चीनीको मुल्य ? भन्ने प्रश्नमा, आजै आउने आशामा छौँ, उनको उत्तर थियो । ‘गोदाममा चीनी छ, हामी चीनीको मुल्य कति कायम हुन्छ भन्ने जानकारीको प्रतिक्षामा छौँ । मुल्य आउदा साथ चीनी बिक्री सुरु गर्छौँ’ श्रेष्ठले भने ।
साल्ट ट्रेडिङले सन्चालन गरेको सुपथ मल्यको पसल सुनसान छ । एक दुईजना उपभोक्ताहरुपनि देख्न पाईदैन । ‘चीनी नै नभएपछी यो पसल को के काम ?’ वरपर जम्मा भएकाहरुले कुरा काट्दै थिए ।