Sorry, that menu does not exist.
 

साताको तस्वीर : कर्णाली पुल !

नेपालगन्ज २०७५ कात्तिक ४ । बर्दिया र कैलाली जिल्लाको बीचबाट बग्ने कर्णाली नदीमाथी २५ वर्ष पहिले चिसापानी घाटमा निर्माण गरिएको कर्णाली पुल नेपालकै एक दर्शनीय स्थल हो । महेन्द्र राजमार्गमा पर्ने कर्णाली पुलको लम्बाई ५ सय मिटर र चौडाई १० मिटर रहेको छ । पुलको बीच भागमा ठडिएको एउटा पिलर (खम्बा)मा स्टिलका तारहरु बाँधेर जापानको कावासाकी हेवी इन्डस्ट्रिजले यो पुल निर्माण गरेको हो । यस प्रविधीबाट निर्माण गरिएको सम्भवत: नेपालको यो पहिलो पुल हो ।

नेपालगन्ज (बाँके) देखी चिसापानी पुग्न सवारी साधनमा झण्डै तीन घण्टाको समय लाग्छ । बर्दिया राष्ट्रिय निकुन्ज छिचोल्दा साथ कर्णाली पुलको गगनचुम्बी पिलर (खम्बा) ले जो कोहिको ध्यानाकृष्ट गरिहाल्छ । पुलका दुबै किनार र बीच भागमा तस्वीर खिच्नेहरुको हरदम भीड लागेको देखिन्छ । सललल बगिरहने सफा, स्वच्छ, निर्मल कर्णाली नदीको मनोहर दृश्यले कसको मन नलोभ्याउला र त्यस सुन्दर दृश्यलाई पृष्टभूमिमा राखी सेल्फी खिच्न को लालायित नहोला ?

नेपालमा सबभन्दा बढी बाघ रहेको बर्दिया राष्ट्रिय निकुन्ज भएर चिसापानी सम्मको यात्रा गर्दा बाघ, मृग, हात्ती आदि जंगली जनावर देख्न सकिने बताईएपनि त्यो अवसर मिल्ने सम्भावना भने निकै कम रहेको महसूस गरियो । चौबीसै घण्टा सन्चालनमा आईरहने महेन्द्र (पूर्वपश्चिम) राजमार्गका कारण बन्यजन्तुहरु बिरलै मात्रामा सडक किनारमा आउने बुझियो । तर स्याल बाँदर जस्ता जनावर भने फाट्ट फुट्ट देख्न पाईदो रहेछ । बाघ देख्न पाईयो, मृग हरिण देखियो भन्नेहरु पनि प्रशस्तै नभेटिएका भने होईनन् । समयको अनुकूलता मिल्नु पर्दोरहेछ, त्यो हामीलाई मिलेन । तर निकुन्ज भित्र ठाउँ ठाउँमा बाघ, मृग, हात्तीका तस्वीर (संकेत) भने दिएको देखिएको थियो । दिनको यात्रा भएका कारणपनि बन्य जन्तुहरु देख्न नपाईएको हुन सक्छ ।

कर्णाली पुल पार गरेर कैलाली जिल्लाको चिसापानी बजारका कर्णाली नदी तटमा रहेका रिसोर्टहरुमा अर्नि खाँदा कर्णालीको चिसो पानीका माछाको परिकारमा बागलुङ बडीगाड नदीका असला माछाको मीठो स्वाद पाईयो, त्यो अविष्मरणीय रह्यो । समय अनुकूल हुन्छ भने एक पटक पुग्नै पर्ने रमणीय स्थान हो, चिसापानी अनि कर्णालीको पुल । अस्तु,


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply