बागलुङ २०७५ कात्तिक ८ । कर्तव्य ज्यान मुद्दामा ८ वर्ष भन्दा बढी सजायँ तोकिएर हालसम्म फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बाल नर्सिँह राणाले दिएको जानकारी अनुसार मोतिलाल बिकको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी बागलुङ जिल्ला साबिक बोवाङ गाविस ७ हाल ढोरपाटन नगरपालिका ९ बस्ने दलबहादुर कामी भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बागलुङको फैसलाबाट ८ वर्ष ९ महिना कैद सजायँ भै फरार रहेका प्रतिवादी निज दलबहादुर कामीलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा उपस्थित गराएकोमा आजै कात्तिक ८ गते जिल्ला अदालत बागलुङको आदेशले जिल्ला कारागारमा थुनामा पठाईएको छ ।
अदालतबाट सजायँ तोकिएर पनि फरार रहेका प्रतिवादी कामीलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यस घटनाले फरार रहेका अन्य प्रतिवदीहरुलाई पनि प्रहरीले पक्राउ गर्ने अभियान सन्चालन गरेको बुझिएको छ ।