सुमन जि.सी, बागलुङ २०७३ फागुन २६ । जिल्लामा क्रियाशिल सहकारी संस्थाका नेतृत्व वर्ग र कर्मचारीहरुलाई सहकारी सम्वन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धिका साथै व्यवस्थापकीय क्षमता वृद्धि गर्ने उद्देश्यले बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बुधवार देखि २ दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम बागलुङ बजारको होटल पिस प्यालेसमा बुधवारदेखि सुरुवात भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथी नेफ्स्कूनका लेखा समिति संयोजक दामोदर अधिकारीले सहकारी संस्थालाई कुशलता पूर्वक सञ्चालन, व्यवस्थापन र सहकारी संस्थाको दिगो विकासका निमित्त तालिम कोसेढुंगा सावित हुने बताउदै तालिममा सिकेका कुराहरुलाई आफ्नो व्यक्तिगत जीवन र संस्थाको संस्थागत विकासमा उपयोग गर्न सहभागिहरुलाई आग्रह गरेका थिए ।
उद्घाटन सत्रमा सहकारीकर्मी देववहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि. बागलुङका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी लगाएतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
३० वटा संस्थाका ५२ जनाको सहभागिता रहेको तालिम कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र सञ्चालन लेखा समिति सदस्य संगिता शर्मा पौडेलले गरेका थिए । तालिमको सहजिकरण नेफ्स्कूनका लेखा समिति संयोजक अधिकारी र संघका अध्यक्ष पौडेलले गर्ने संघले जानकारी दिएको छ ।