जनताले आशा गरे अनुसार सरकारले काम गर्न नसक्दा सरकार असफल बनेको छ !
लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ कात्तिक ३० । राष्ट्रिय जनमोर्चाको प्रथम ढोरपाटन नगर सम्मेलनको आज एक कार्यक्रमका बीच प्रदेश सांसद् एवं गण्डकी प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले उद्घाटन पछी बोल्दै अहिले देशमा चरम रुपमा भ्रष्टाचार मौलाउँदै गएको र जनताले आशा गरेअनुसार सरकारले काम गर्न नसकेको भन्दै सरकार असफल बन्दै गएको बताए । देशमा पहिलो पटक कम्युनिष्टको दुईतिहाई बहुमतको सरकार भएपनि जनताले आशा गरेअनुसार देशमा शान्ति, सुव्यवस्था र सुशाशन स्थापना गर्न नसकेको भन्दै उनले सरकारमा पुगेपछि स्वयं नेताहरु नै भ्रष्टचारसंग सौदाबाजी गरेकाले देशमा गम्भीर अवस्था आएको उनको तर्क थियो । प्रमुख अतिथि थापाले संघीयता कै कारण देशले थाम्न नसक्ने अनावश्यक व्यय भार बढेकाले देशमा आर्थिक अवस्था झन झन कमजोर बन्दै गएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सांसद् टेक बहादुर घर्ती, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा, राष्ट्रिय जनमोर्चाका नेता एवं जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगाना, अखिल नेपाल महिला संघ बागलुङकी सदस्य केश कुमारी बुढा, नेपाली काँग्रेसका बान बहादुर छन्त्याल, नेपाल कम्युनिष्ट पार्टी विप्लपका हरि बहादुर कुँवर लगायतले कार्यक्रममा बोल्दै आफ्नो मन्त्य सहित शुभकामना दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकट विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता, समर्थक एवं प्रतिनिधि पर्यवेक्षक लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयबाट निस्केको एक र्याली नारा जुलुस सहित बुर्तिबाङ बजार परिक्रमा गरि उद्घाटन सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका संयोजक धन बहादुर अदैको अध्यक्षता र दिपक थापाको स्वागत मन्तव्य रहेको उक्त उद्घाटन कार्यक्रमको संचालन शिवलाल चालिसेले गरेका थिए । अहिले सम्मेलनको बन्दसत्र चलिरहेको र बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।