कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ मंसिर १६ । बागलुङ नगरपालिका वडा नम्वर ७ तितौरेमा रहेका संसारकोट, थाप्लेको धुरी र रायँरायँकोट ऐतिहासिक एवं प्राकृतिक दृष्टिकोणले रमणीय पर्यटकीय संभावना युक्त स्थल हुन् । पछिल्लो समय कुवा, पोखरीलाई समेत पर्यटकीय गन्तव्य बनाउने अभियान सन्चालन भैरहँदा बागलुङ सदरमुकामको शिरमा रहेका यी प्राकृतिक सौन्दर्य युक्त स्थलहरुको विकास र प्रवर्धनका लागी सरोकारहरुबाट पहल नहुनु चिन्ताको विषय बनेको स्थानीयको भनाई छ । समुचित प्रचार प्रसार नहुँदा अति रमणीय पर्यटकीय स्थल हुँदाहुँदैपनि आन्तरिक एवं बाह्य पर्यटकहरुको गन्तव्य बन्न सकिरहेको छैन ।
संसारकोटबाट देखिने हिमश्रृंखलाहरु ।
बागलुङ नगरपालिका, काठेखोला गाउपालिका, र म्याग्दी जिल्लाको बेनी नगरपालिकाको सीमानामा अवस्थित समुद्री सतह देखि २५ सय मिटर उचाइमा रहेको संसारकोटबाट धौलागिरी, अन्नपूर्ण निलगिरी, माछापुच्छ लगाएतका हिमश्रृखलाका साथै बागलुङ, पर्वत, म्याग्दी, कास्की, स्याङजा, गुल्मी जिल्लाहरुका पहाडी भुगोलको अवलोकन गर्न सकिने उपयुक्त पर्यटकीय धुरी भएकाले यसको विकासका लागी सरोकारवालाहरुको ध्यान जानु जरुरी देखिन्छ ।
स्वामी कमलनयनाचार्यको पहलमा यस क्षेत्रमा रहेका ताराजालकोट, कारीकोट, माझकोट, रायँरायँकोट र संसारकोट गरी पाँचकोटहरुलाई समावेश गरी विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटको नाममा कोटहरुको संरक्षण गर्दै धार्मिक पर्यटकीय स्थलको जोडतोडका साथ निर्माण कार्य भैरहँदा पञ्चकोट मध्यका संसारकोट र रायँरायँकोटको विकासको लागी हालसम्म प्रयास सम्म नहुनुलाई स्थानीयले गम्भीररुपमा लिएका छन् ।
रायँरायँकोटको बिशाल शिला ।
गत वर्ष संसारकोटमा मोक्ष लक्ष्मीको मन्दिर स्थापना गर्ने योजना बनाइएको थियो । त्यस क्षेत्रका संरक्षण पर्वद्धन र विकासको लागी सरोकारवालाहरुले ध्यान नदिंदा कुनै काम हुन नसकोको स्थानीयको गुनासो रहेको छ ।
पञ्चकोट मध्येको सवै भन्दा ठुलो संसारकोट भएको र यहाँ परापूर्व कालका केहि पोखरी चैतारा तथा अन्य विभिन्न संरचना रहेता पनी पछिल्लो समय संरक्षणको अभावमा सवै संरचना मेटिदै गएको स्थानिय जयवहादुर कार्कीले वताए ।
बागलुङ बजार देखीे पञ्चकोट हुदै करिव ३ घण्टाको यात्रा पछी संसारकोट पुग्न सकिन्छ । निर्माणाधीन विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटबाट कारीकोट, पवित्र मालिका मन्दिर, माझकोट, रायरायकोट हुदै संसारकोट सम्मको ट्रेकिङ रुट बनाई होमस्टे संचालनको प्रचूर सम्भावना रहेको जैविक विबिधतायुक्त पर्यटकीय स्थल संसारकोटमा
पुर्वाधार निर्माण गर्न सके दैनिक हजारौ आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने सामुदायिक वन उपभोक्त समितिका कोषाध्यक्ष पदम बहादुर क्षेत्रीको भनाई छ । पर्यटन प्रवद्र्धनको लागी आवश्यक पुर्वाधारको विकास हुन नसकेका कारण आन्तरीक तथा वाहिय पर्यटक भित्राउन नसकेको स्थानिय वासीहरुको भनाई छ ।