निर्मल पौडेल, कुश्मा, २०७५ मंसिर २८ । पर्वतको कुश्मामा सञ्चालन भैरहेको ह्याण्डबल खेल सम्बन्धी साताब्यापी प्रशिक्षण कार्यक्रम समापन भएको छ । औपचारिक कार्यक्रमका बीच तालिमको समापन गर्दै प्रमुख अतिथि तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबल खेलको क्रेज देशव्यापीरुपमा बढिरहेको बताउँदै यो खेलले व्यक्तिको व्यक्तित्व, नेतृत्व र शारीरिक तन्दुरुस्ती राख्न मद्दत गर्ने भएकाले विद्यार्थी जीवनबाटै यस खेलमा लाग्नुको विशेष महत्व हुने कुरामा जोड दिए। नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका गुरुङले खेलका माध्यमबाट समाज र देशको सेवा गर्न तल्लीन भएर लाग्नुपर्ने र तालिममा लिएको ज्ञान सीपलाई निरन्तर अभ्यासबाट निखारपन ल्याउनुपर्ने कुरामा सजग रहन प्रशिक्षार्थीहरुलाई ध्यानाकर्षण गराए ।
विदेशी प्रशिक्षक झिकाएर जिल्लास्तरमा सात–सात दिनको तालिम चलाउनु चानचुने काम होइन भन्दै प्रमुख अथिति गुरुङले तालिमको प्रभावकारी तारतम्य मिलाएकोमा जिल्ला ह्याण्डबल संघको प्रशंसा गरे । गुरुङले जिल्ला ह्याण्डबल संघ पर्वतले निकट भविश्यमा आयोजना गर्ने विद्यालयस्तरीय ह्याण्डबल टुर्नामेन्टका लागि आवस्यक ट्रफी, मेडल र प्रमाणपत्र नेपाल ह्याण्डबल संघले सहयोगस्वरुप उपलब्ध गराउने पनि जानकारी दिए।
तालिमको समापन समारोहमा बोल्दै जिल्ला तेकान्दो संघका अध्यक्ष तथा नमुना आवासीय माविका प्राचार्य इन्द्रमान खत्रीले अरु खेलको तुलनामा ह्याण्डबल खेलले सबैजसो खेलाडीलाई सक्रिय बनाउने तथा दर्शकहरुलाई पनि मनोरञ्जन प्रदान गर्ने भएकाले ह्याण्डबलप्रति पछिल्लो समयमा सबैको ध्यान पुगेको बताए । उनले अब हरेक विद्यालयले आफ्ना छात्रछात्राहरुलाई ह्याण्डबल खेल्ने बातावरण उपलब्ध गराउनुपर्ने खाँचो समेत औंल्याए ।
शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चपागाईले खेल, अनुशासन र शिक्षा एक अर्काका परिपूरक भएकाले विद्यालय शिक्षाका साथसाथमा खेलकुदलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै साना–ठूला सबैले खेल्न मिल्ने ह्याण्डबल खेललाई अब जिल्लाव्यापी बनाएर सबै विद्यालयमा खेल्ने वातावरण बनाउन आग्रह गरे ।
जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले आफू ह्याण्डबलको पूर्व खेलाडी भएका कारणले पनि जिल्लामा हराउँदै गएको ह्याण्डबल खेललाई पुनर्जागृत गर्न तालिमको आयोजना गरिएको जानकारी दिए।
समापन समारोहमा नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, जाइकाका स्वयंसेवी प्रशिक्षक केन्जी इसिहारा, पूर्व खेलाडी मञ्च नेपालका सह–कोषाध्यक्ष महेश पौडेल, आदर्श आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शालिकराम अधिकारी, एथलेटिक्स प्रशिक्षक बिष्णुप्रसाद नेवार, कराँते प्रशिक्षक राम श्रेष्ठलगायतका बक्ताहरुले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न र अरु साथीहरुलाई पनि सिकाउन शुभकामना दिएका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि तेज गुरुङलगायतका अतिथिहरुले सबै ४४ जना खेलाडी र सहभागी विद्यालयहरुलाई सहभागिताको प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको सौजन्य नमुना आवासीय मावि र नमस्ते बुक्स एण्ड स्टेशनरीले गरेका थिए भने प्याब्सन पर्वतले अतिथि सत्कारको व्यवस्था गरेको थियो । तालिमको सफल सञ्चालनका लागि पूर्व खेलाडीहरु गोविन्द श्रेष्ठ, ज्ञानेन्द्र जोशी, प्रकाश कर्माचार्य, उत्तम कर्माचार्य, केदार कर्माचार्य, राजेश कुमाल, नारायण कुमाल लगायतकाले ठूलो योगदान गरेको संघका सचिव निलराज पुरीले जानकारी दिए । तालिममा केन्जी इसिहारा र रमेश श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेमा थिए।
यही मंसिर २२ गते कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरी आज २८ गतेसम्म सञ्चालन भएको तालिममा कुश्मास्थित नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल आवासीय मावि, शहिदस्मारक आवासीय मावि र सशस्त्र प्रहरी बलका गरी कूल ४४ जना सहभागी रहेका छन् ।
तालिम समापनको अघिल्लो दिन हिजो सहभागीहरुका बीच मैत्रीपूर्ण ह्याण्डबल खेल पनि खेलाइएको थियो । सोही अवसरमा आयोजकका तर्फबाट प्रमुख अतिथि, विश्ष्टि अतिथि र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको समापन समारोहमा ह्याण्डबलका पूर्व खेलाडी प्रकाश कर्माचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ह्याण्डबल संघका स्थानीय प्रशिक्षक शिक्षक रमेश श्रेष्ठले गरेका थिए ।