बागलुङ, २०७५ मंसिर २८ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापित ‘भूपि पुरस्कार’ साहित्यकार एवम् त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीलाई प्रदान गरिने भएको छ । विसं २०७३ मा स्थापित उक्त पुरस्कार पहिलो पटक त्रिपाठीको अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि प्रदान गर्न लागिएको हो ।
नगद रु. १५ हजार राशिको सो पुरस्कार आउँदो पुस १० गते ८४ औँ भूपि जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । त्रिपाठीका निबन्ध सङ्ग्रह ‘बादल, धर्ती र आस्थाहरु’, ‘जीवनसूत्र र स्वप्नाभास’ लगाएतका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरु प्रकाशित छन् । उनको विसं २०५३ मा ‘अनिवार्य नेपाली व्याकरण र रचना’ समेत प्रकाशित भएको थियो ।
भूपिका रचनामाथि समालोचनात्मक ढङ्गले लेखिएको कृति भएका कारण त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले ईबागलुङलाईृ बताए । ‘पहिलो पुरस्कार वितरणको तयारीमा छौँ’ साहित्कार रोशनले भने, ‘वर्षेनी भूपि जयन्ती पारेर पुरस्कार दिने योजना छ ।’
स्रष्टा र साहित्यिक संस्थालाई गरी वर्षेनी आलोपालो गरेर पुरस्कार दिइनेछ । साहित्यिक संस्थाहरुलाई अक्षयकोषमा रकम राख्ने गरी पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कार कोषमा हालसम्म रु. तीन लाख ७० हजार रुपैयाँ जम्मा भएको छ । रु. एक हजारदेखि माथि सहयोग गर्ने १ सय २५ जना कोषका संस्थापक बनिसकेका छन् ।
‘जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरेका हौँ’ अध्यक्ष रोशनले भने ‘कवि भूपि शेरचनको सम्मानमा यो समर्पित छ । विसं १९९० साल पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्मनुभएका शेरचन नेपाली साहित्यको विशिष्ट प्रतिभा हुनुहुन्छ ।