योगेन्द्र विश्वकर्मा बुर्तिबाङ, २०७५ पुस २ । निसीखोला गाउँपालिका वडा नं.–२ जुग्जाखोलामा आगामी पुस १० र ११ गते प्रथम खुल्ला आमन्त्रण (Invitational) तेक्वाण्डो प्रतियोगिता–२०७५ हुने भएको छ । गोल्डेन फ्यूचर तेक्वान्दो डोजाङको आयोजना, गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजना तथा अन्तराष्ट्रिय तेक्वान्दो महासंघ नेपालको संरक्षणमा पुस १० र ११ गते २ दिन उक्त प्रतियोगिता सञ्चालन हुने बुर्तिबाङमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
तेक्वान्दो खेलको विकास, संरक्षण तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको गोल्डेन फ्यूचर तेक्वान्दो डोजाङका अध्यक्ष तथा कार्यक्रम संयोजक अभिषेक छन्त्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
निसीखोला गाउँपालिका–२ जुग्जाखोला बजारमा हुने उक्त प्रतियोगितामा बिभागीय टिम बाहेकका देशभरीबाट करिब २०० जना भन्दा बढि खेलाडीहरु सहभागीता रहने संयोजक छन्त्यालले बताए । छन्त्यालका अनुसार प्रतियोगितामा पुरुष जुनियर तर्फ २० देखि ६० के.जी तौल सम्मका कलर बेल्ट खेलाडी, पुरुष सिनियर तर्फ ४५ देखि ६० केजी तौल सम्मका व्ल्याक वेल्ट खेलाडी, महिला जुनियर तर्फ २० देखि ५० केजी तौल सम्मका कलर वेल्ट खेलाडी र महिला सिनियर तर्फ ४० देखि ५५ केजी तौल सम्मका व्ल्याक वेल्ट खेलाडीहरुको प्रतिस्पर्धा हुनेछ । त्यसैगरी स्पेशल फ्रि स्पायरिङ समेत हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका अफिसियल संयोजक भरत मगरले तेक्वान्दोमा आबद्ध खेलाडीहरुको संस्थागत विकासका साथै खेलाडीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुद जगतको अन्तराष्ट्रिय क्षेत्रमा मार्सल आर्ट तथा तेक्वान्दो खेलले अन्य खेल सरह ब्याबसायिकरुपमा लिन थाले पनि नेपालमा सम्भावना हुदा हुदै पनि ब्यावसयिकरुपमा अझै राम्रोसंग प्रवेश नगरिसकेको मगरको भनाई छ । उनले अन्य खेललाई जस्तै मार्शलार्टलाई पनि नेपाल सरकारले केन्द्र देखि स्थानिय तह सम्म प्राथमिकता दिन नसकेकोले धेरै चुनौँतिको सामना गर्न परेको समेत बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १३ देखि १४ लाख रुपैयाँ सम्मको खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल पार्नका निम्ती आर्थिक तथा भौतिक सवै पक्षको तयारीमा तिब्र रुपमा लागेको समेत सो अवसरमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा स्थानिय सञ्चारमाध्यमका पत्रकारहरुले कार्यक्रमको विषयमा आफ्ना जिज्ञाषा राखेका थिए ।