बागलुङ २०७५ पुस ४ । बागलुङ नगरपालिकाले गत मंसिर २७ गते देखी बानपा २ माझकोट स्थित साविकको जिल्ला कृषि विकास कार्यालय भवनबाट नगरपालिकाको काम सुरु गरेको छ । बागलुङ नगरपालिकाको दैनिक कार्य बजार स्थित कृषि कार्यालयबाट सुरु भएपछी नगरबासीलाई राहतको अनुभूति मिलेको छ ।
नगरपालिकाले पहिलो पटक साविकको जिल्ला कृषि विकास कार्यालयमा नगर कार्यपालिकाको बैठक राखेर काम सुरु गरेको हो । जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि सीमित कर्मचारी रहेको कृषि ज्ञान केन्द्र तथा आलु जोन कार्यक्रमको सम्पर्क कार्यालय रहको उक्त भवनबाट नगरपालिकाको मुख्य कार्यालय, कृषि विकास शाखा र यस अगाडि रहेका कृषि ज्ञान केन्द्र र आलु जाने कार्यक्रमको सम्पर्क कार्यालय यसै भवनबाट सञ्चालित हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले संघीयता कार्यान्वयनसँगै खारेजीमा परेर खाली रहेका भवनहरुबाट आफ्नो सेवा प्रदान गर्ने योजना अनुसार विभिन्न भवनहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ । साविक महिला विकासको भवनमा नगरपालिकाको महिला विकास शाखा, न्यायीक इजलास तथा अल्पकालीन महिला सेवा केन्द्र तथा भूसंरक्षण भवनबाट नगरपालिकाको सहकारी कार्यालयको सेवा दिन सुरु गरिसकेको छ ।
नयाँ कार्यालयमा सुरु भएको नगर कार्यपालिकाको बैठकमा कर्मचारी समायोजन, नगरपालिकामा आउने विशेष अनुदान तथा समपुरक अनुदानका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । सरकारी संपत्तिको सही संरक्षण गर्ने उद्देश्य अनुसार स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयबाट सेवा सुरु गरिएको नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।