थम्मन थापा गल्काेट २०७५ पुस ४ । गल्कोट नगरपालिका वडा नं ७ मा सञ्चालित सम्पति तथा भूमि कर संकलन घरदैलो अभियानबाट ४ लाख ३६ हजार ७ सय ६६ रुपैयाॅ राजश्व संकलन भएको छ । अभियानबाट वडा नं ७ का ५ सय जना करदाताले सरकारलाई कर बुझाएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । पुस १ गतेदेखि सुरु भएको अभियानमा स्थानियबासीको उत्साहजनक सहभागिताको रहेको वडा अध्यक्ष थापाले बताए ।
जनतालाई घरदैलोमा नै सेवा दिने उदेश्यले गल्कोट नगरपालिकाले घरदैलोमै अभियानको रुपमा सञ्चालन गरेको नगर उप प्रमुख रेनुका काउचाले बताइन् । सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको नीति अनुरुप नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको नगर उपप्रमुख काउचाको भनाई छ ।
कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद कर संकलन अभियानको क्रममा बुझाईएको थियो । सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय मल्म सप्ताहघाटमा कर संकलन कार्य सञ्चालन गरिएको थियो ।
आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानबाट स्थानियबासी घर आगनमै प्रत्यक्ष लात्भान्वित भएको वडा सचिव महेन्द्र पौडेलले जानकारी दिए । घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको थियो ।
अभियानको अन्तिम दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले स्थलगत निरीक्षण पछि कर संकलन अभियान सफल पार्न सहयोग गर्नुहुने वडा सरकार, स्थानियबासी, वडा भित्रका सरकारी कर्मचारीहरु, र प्राङगण तथा कार्यालय एवं व्यवस्थापकिय सहयोग गर्ने सामाजिक संस्था घुम्टे युवा परिवार मल्मलाई नगरपालिकाको कार्यालयको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरे ।
त्यस्तै जनतालाई घरदैलोमै सुविधा होस भनि नगरपालिकाले वडामै कर बुझाउन सक्ने व्यवस्था गरेको भन्दै वडा सरकार र वडा नं ७ का जनसमुदायको तर्फबाट नगरपालिकाको कार्यालयलाई वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले आभार प्रकट गरेका िथए । वडामै सरकारलाई सम्पति तथा भुमि कर बुझाउन पाउॅदा आफुहरुलाई थप सहजता र सुविधा भएको भन्दै स्थानियबासी समेत खुसी भएका छन ।