भरत सापकोटा, बागलुङ बिहुँ २०७५ पुस २० । बिहुँकोट अमर क्याम्पसको हिँजो सम्पन्न सातौ वार्षिकोत्सव समारोहमा क्याम्पसका अध्यक्ष पूर्व सांसद गोविन्द प्रसाद शर्मा कँडेल तथा क्याम्पस निर्माण समितिका अध्यक्ष डिल्ली प्रसाद कँडेल दुबै जना अनुपस्थित रहेपछी शिक्षाप्रेमीहरुबीच व्यापक टीका टिप्पणी भैरहेको छ । क्याम्पसका प्रमुख जिम्मेवारी वहनकर्ता व्दय नै वार्षिकोत्सव कार्यक्रममा अनुपस्थित रहँदा क्याम्पसको सुसन्चालनमा आशंका उब्जन थालेको स्थानीयको बुझाई छ ।
२०६८ सालमा शुरु गरिएको बिहुँकोट अमर क्याम्पस स्थानीय महिलाहरुको सक्रियतामा बिहुँ पोखरामा निर्मित सामुदायिक भवनमा सन्चालन गरिएको छ । क्याम्पसको आफ्नै भवन निर्माण गर्न २०७३ साल पुसमा सन्चालन गरिएको महायज्ञमा रु ३ करोड ७ लाख आम्दानी भएकोमा खर्च कटाई रु २ करोड ७० लाख मौज्दात रहेको बताईएको थियो । क्याम्पसको आफ्नै भवनको गत २०७५ बैशाख १४ गते ठुलै तामझाम साथ शिलान्यास गरिएको थियो । काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र बरिष्ठ चन्दादाता श्यामसुन्दर रिजालले बैधिक बिधिपूर्वक पूजा अर्चना गरि शिलान्याश गरिएको ९ महिना बित्न लाग्दापनि निर्माण कार्य अघि बढेको छैन । क्याम्पसको भवनको प्रगति शिलान्यास मै अड्किएको छ ।
क्याम्पसमा पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको छ । भवन निर्माणमा तदारुकता शुन्यको स्थितिमा छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शर्मा कँडेल यहिँ गाउँमै भएर पनि स्वास्थ्यको कारण देखाई निष्क्रिय रहनु र क्याम्पस भवन निर्माण समितिका अध्यक्ष कँडेल बसाई सराई गरी जिल्ला बाहिर जानुले दुबैको नेतृत्वबाट क्याम्पसले बामे सर्न सघाउ नपुग्ने बिहुकोटबासीको ठहर छ ।
२०७३ साल मंसिर २८ देखि पुस ६ सम्म महायज्ञ संचालन गर्दा जुन किसिमको उर्जा उमंग देखिन्थ्यो त्यो अस्ताउदै गएको छ । जसरि रकम संकलन गर्न सबै जागरुक देखिन्थे त्यसरिनै क्याम्पस सन्चालन र निर्माण कसैले किन चासो नदेखाएका होलान् ?आम चन्दादाता र जनताको प्रश्न यहि हुन थालेको छ। काठेखोला गाउंपालिकाका ५ र ६ दुई वडामा दुई क्याम्पस हुनु र त्यसैमा बिद्यार्थीहरुको अभाव देखिनुले बर्तमान समयमा अमर क्याम्पस र भिमसेन क्याम्पस समेत कसरी चल्लान त ? भन्ने प्रश्न खड्किन थालेको छ। बिहुँकोट अमर क्याम्पस संचालनमा आएको पहिलो बर्ष वि वि एस मा १६बिद्यार्थी बाट सुरु गरिए पनि बिस्तारै विद्यार्थीहरु पलायन हुन थालेको क्याम्पस प्रंमुख केशव कडेंलको भनाई छ ।
यस क्षेत्रमा क्याम्पस सन्चालन कुनै कठिनाई नहुने केहि बुद्धिजिवीहरुको भनाई छ। कर्मनिष्ठ व्यक्तिलाई आगामि निर्वाचनबाट बिहुँकोट अमर क्याम्पस व्यवस्थापन समिति र भवन निर्माण समितिको अध्यक्षमा चुन्न सक्ने हो भने क्याम्पस सन्चालनमा समस्या छैन।
यस क्याम्पस संचालक समितिका अध्यक्ष गोबिन्द प्रसाद कडेंललाई हामीले अमर क्याम्पस निर्माणमा भैरहेको ढिलाई र बिद्यार्थीहरुको संख्यामा कमी आएको सन्दर्भमा प्रश्न गर्दा उनले क्याम्पस संचालनको बिषय त्यति सजिलो र हल्का नभएकाले आवश्यक छलफल गर्नुपर्ने बताए । निर्माण समितिका अध्यक्ष डिल्ली प्रसाद कडेंल संग यहि प्रश्न गर्दा आफु केहि ब्यक्तिगत काममा ब्यस्त रहेकाले र बसाई सरेकाले समय दिन नसकेको बताए।