सुजन प्रेमी, बागलुङ, २०७५ पुस २१ । बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका १० राङ्खानी स्थित राङ्खानी सानाकिसान कृषी सहकारी संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवी श्रीसको अध्यक्षता र जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथी जैमिनी नगरपालिकाका प्रमुख प्राशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, सानाकिसान कृषी संघका गण्डकी प्रदेश सचिव लक्ष्मण पुन लगाएतले मन्तव्य राखेका थिए ।
साधारण सभाको अवसरमा एसइइ र प्लसटुमा उत्कृष्ठ अंक ल्याउने संस्थाका सेयर सदस्यहरुका छोराछोरीलाइ सम्मान, पशुबिमा गरेका फुलमाया परियार र कृष्ण क्षेत्रीलाई पशुको मृत्युबापत पाउने पशुबिमाको रकम दिइएको थियो ।
संस्थाले बाख्राको बिमा गरेर बाख्राको मृत्यु भए ७ हजार २ सय र भैसीको बिमा गरेपछि मृत्यु भएका ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
कार्यक्रमको अवसरमा संस्थामा शेयर सदस्य ६ सय १ जना कुल रकम २ करोड १८ लाख रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । आगामी बर्षमा संस्थाको रकम ३ करोड पुराउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
आजै देवी श्रीसको अध्यक्षतामा संस्थाको नया कार्यसमिती छनोट गरिएको छ । जसको उपाध्यक्षमा रुपा शर्मा, सचिवमा बिना थापा, कोषाध्यक्षमा नर्मदा श्रीस चयन भएका छन् भने सदस्यहरुमा धनमाया श्रीस, खुमकला थापा, देउकुमारी श्रीस, सुनिता श्रीस, यममाया काउचा, बिष्णु कुमारी राना र पबित्रा थापा रहेका छन् । संस्थाले छविलाल श्रीवसको अध्यक्षतामा ३ सदस्यीय लेखा समिती समेत चयन गरेको छ, जसको सदस्यमा मन बहादुर थापा र भिम बहादुर पुन रहेका छन् ।