रबिना बोहरा, बागलुङ, २०७५ पुस २३ । बागलुङ नगरपालिका–२ मा रहेको वीरेन्द्र-ऐश्वर्य पार्क (उद्यान)को संरक्षण नहुँदा पार्क कुरुप बन्दै गएको छ । सरकारी सम्पतिको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाउदा शान्ति दिने पार्क अहिले तनाव स्थलका रुपमा परिणत भएको छ ।
बागलुङ नगरपालिकाको कार्यालयको स्वामित्वमा रहेको सो पार्कमा अहिले बाहिरी मानिसहरु संगै गाईभैँसीलाई समेत छोडेपछि अहिले दुर्गन्ध समेत फैलदैँ गएको छ । नगरपालिकाले प्रभु बैँकमा खाता सञ्चालन गरी आर्थिक कारोबार गर्ने र बैँकले बानपा–२ मा रहेको एश्वर्य पार्क र बानपा १ मा रहेको सहिद स्मृति पार्कलाई व्यवस्थापन गर्ने गरी सम्झौता भएपनि नगरपालिकाले सम्झौता कार्यान्वयन नगरेको भन्दै बैँकले पनि पार्क व्यवस्थापन गरेको छैन । एकाध पटक बैँकले सरसफाई गरेपनि पछिल्लो समय पार्कमा भएका फुलका विरुवाहरुको समेत संरक्षणमा नगरपालिकाले ध्यान दिएको छैन ।
अहिले जाडो मौसममा घाम ताप्न जाने मानिसहरुले सुन्तला, बदाम खाएर बोक्रा समेत त्यही ठाउँमा फ्याक्ने गरेका छन् । केही समय पहिले माछा हुने पोखरीमा अहिले काठ, दाउरा, कागज, प्लाष्टिकका सामाग्री, ढुंगा इट्टाले भरिएको छ । सोही पार्क भित्र बागलुङ नगरपालिका–२ को वडा कार्यालय सञ्चालनमा रहेपनि उनीहरुले समेत यसको व्यवस्थापनमा ध्यान दिएको पाइदैँन । बागलुङ नगरपालिका–२ का सदस्य अर्जुन घिमिरेले पार्क नगरपालिकाको स्वामित्वमा रहेको भन्दै नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने नत्रता बानपा–२ को वडा कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने बताए । सरसफाई गर्ने जिम्मेवारी नगरपालिकाको भएपनि बारम्बार आग्रह गर्दा समेत अटेरी गरी बैँकलाई देखाएर पन्छिने गरेको घिमिरेले बताए ।
सदरमुकाममा रहेको एक मात्र पार्कमा फुलका विरुवा रहेपनि त्यसको हेरचाह र संरक्षण नगर्दा फुलका बिरुवा ओईलिएका छन् भने त्यहा रहेका विभिन्न देवी देवताको मुर्ति, बस्ने स्थान, बालबालिका खेल्ने स्थान लगायतका संरचनाहरु जीर्ण बनेका छन् । पार्कलाई हराभरा तथा भौतिक संरचना निर्माण गरी व्यवस्थापन गरेर शुल्क लिएर सञ्चालन गर्ने बागलुङ नगरपालिकाको उद्देश्य अहिले भाषणमा मात्रै सीमित बनेको छ । सार्वजनिक सम्पत्ति कब्जा गरेर काम नगर्ने प्रबृत्ति बढ्दैँ जाँदा यहाँका स्थानीयबासी रुष्ट बनेका छन् । यसलाई व्यवस्थित गर्दा आन्तरिक, बाह्य पर्यटकलाई भित्राउन सक्ने सम्भावना भएपनि सम्बन्धित पक्षले जिम्मेवारी बहन गर्न नचाँहा अहिले पार्क अव्यवस्थित बन्दै गएको हो ।