बागलुङ, २०७५ पुस २७ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको आयोजनामा स्थानीय तहमा पशु स्वास्थ्य कार्यक्रम सम्बन्धि अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङका १० स्थानीय तह र पर्वत जिल्लाका ७ स्थानीय तहका पशु सेवा शाखाका प्रमुखहरु सहभागी भएको कार्यक्रममा उनीहरुले विगतको तुलनामा अहिले बजेट कम हुँदा काम गर्न असहज भएको बताएका छन् । केही स्थानीय तहले पशुको क्षेत्रमा बजेट बिनियोजन गरेर राम्रो काम गरेपनि केहीमा कार्यक्रम नै नहुँदा अन्यौल भएको बताएका छन् ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख नारायणप्रसाद शर्माले केन्द्र र स्थानीय तहबिच समन्वयकारी अवधारणाका बिषयमा जानकारी गराएका थिए ।
सोही अवसरमा राष्ट्रिय पिपिआर रोग नियन्त्रण कार्यक्रमका बारेमा पनि छलफल गरिएको छ । बागलुङ र पर्वत जिल्लाका भेँडाबाख्रालाई लगाउने गरी अहिले १ लाख ३२ हजार डोज भ्याक्सिन आएकाले आगामी माघ १ गते देखि ३० गतेसम्म प्रत्येक स्थानीय तहबाट लगाउने बताइएको छ ।
पशु प्राविधिक, गाउँ स्तरमा रहेका प्राविधिक तथा ग्रामिण पशु स्वास्थ्यकर्मीहरुले ३ महिना मुनिका पाठापाठी बाहेकका भेडाबाख्रालाई भ्याक्सिन लगाउने केन्द्रले जनाएको छ । १२ महिनै फैलिने सम्भावना भएको पिपिआर रोगको न्युनिकरणका लागि प्रत्येक पालिकामा रहेका भेडाबाख्राको संख्याको आधारमा लगाइने भएको हो । गत बर्ष बागलुङमा ५० हजार डोज आएपनि यस बर्ष ७० हजार डोज भ्याक्सिन आएको केन्द्रले बताएको छ ।
कार्यक्रममा स्थानीय तहसंग विगतका बर्षमा कार्यालयले गरेका कार्यक्रम र अहिले गरेका कार्यक्रम बिचको भिन्नता, आगामी दिनमा गर्नुपर्ने आवश्यक कार्यक्रम लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा गल्कोट नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक चिन्तामणी शर्मा, पर्वतका पशु प्राविधिक रामजीप्रसाद शर्माले बोलेका थिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षता, पशु चिकित्सक बिमलप्रसाद शर्माको स्वागत र पशु विकास अधिकृत निलकण्ठ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।