संगम घर्तीमगर, बागलुङ २०७५ पुस २७ । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना नभएको बताएका छन् । नेपाल मगर संघ गण्डकी (तमुवान, मगराँत गण्डक) प्रदेशको प्रथम अधिवेशन बागलुङमा उद्घाटन गर्दै मगरले मगर संघ सबै उत्पीडित समुदायको अधिकारका लागि लड्ने बताए । मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना भएको संस्था होईन, हामी मूलधारमा नसमेटिएका सबै वर्ग र जातिको मुद्दाका लागि लड्छौं,’ उनले भने,‘ हामीले आफ्नो अधिकार माग्दै गर्दा अरुको अधिकार खोसेर देउ भनेका छैनौं ।’ सरकारले कसैलाई बढी काखी च्याप्ने र कसैलाई हेप्ने गरेका कारण नै अहिलेको अवस्था सिर्जना भएको बताए ।
हामी न्यायोचित समाज निर्माणको पक्षमा छौं, हामीले आफनो अधिकारको खोजी गर्दै गर्दा जातिय सद्भाव खलबल्याउने काम भयो भन्ने आरोप पनि लाग्ने गरेको छ,’ उनले भने,‘हामीले कसैलाई नदेउ भनेका छैनौं आफ्नो भागको अधिकार खोज्दा कसरी सद्भाव खलबलियो ?’ नेपालमा रहेका सबै वर्ग समुदायलाई समान राजनीतिक अधिकार र अपनत्वको महसुस गराएको भए मगर संघको जन्म नै नहुने उनको भनाई छ । ‘मगर संघ जन्माउने काम राज्यले गरेको हो, कसैलाई काखी चेप्ने र कसैलाई हेप्ने काम नभएको भए यसको जन्म नै हुने थिएन,’ रोकाले भने । नेपाल एकिकरणको नाममा विभीन्न राज्य सञ्चालन गरेर बसेका आदिबासी जनजातिहरुको राज्य खोसिएरबाटै उनीहरुको भाषा संस्कार र संस्कृति मेटाउने काम भएको उनले आरोप लगाए ।
आज पौष २७ गते पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा व्याख्या गर्ने गरिएको छ, हामीले उनको योगदानको अबमूल्यन गर्न खोजेका होईनौं,’ अध्यक्ष रोकाले भने,‘ तर राज्य एकिकरणको नाममा भएको आदिबासी जनजातिमाथिको नर संहार र त्यसपछिको भाषा संस्कारमाथिको पनि दमन यहाँको मगरले भुल्न सक्दैन, यहाँको गुरुङले भुल्न सक्दैन र यहाँको आदिवासी जनजाति समुदायले भुल्न सक्दैन ।’ पथ्वीनारायण शाहले भूगोल एकिकरण गरे पनि भावना एकिकरण गर्न नसकेको उनको जिकीर छ ।
‘पृथ्वीनारायण शाहको सत्ता विस्तार बचाउका लागि मगरहरुले निकै बलिदान गरेका छन्,’ उनी भन्छन्,‘उनले नेपालको भूगोललाई त एकिकरण गरे तर भावना एकिकरण गर्न सकेनन् ।’ नेपालको विविधता यहाँको सौन्दर्यता भए पनि यहाँका शासकहरुले त्यसलाई बोझको रुपमा लिँदा समस्या पैदा भएको उनको बुझाई छ ।
नेपाल मगर संघका पूर्व अध्यक्ष एवं संरक्षक झकबहादुर थापाले नाम मात्रको संघियताले नेपालको मगर तथा आदिवासी जनजातिलाई झन् पीडित बनाएको बताए । ‘अहिले यो प्रदेशको नामाकरणको सवालमा ३४ प्रतिशत मतलाई लत्याएर बहुमतको आधारमा गण्डकी प्रदेश नामाकरण गरिएको छ,’ उनले भने,‘हामीले यहाँको ऐतिहाँसिक पृष्ठभूमिलाई समेत जोडेर तमुवान मगराँत पनि संगै जोडौं भनेका थियौं । हाम्रो कुरा नसुनिए पनि हामी निरन्तर संघर्षमा छौं । यो कुरा हामीले एक न एक दिन अवश्य पाउनेछौं ।’ मगर संघका निवर्तमान अध्यक्ष सल्लाहकार संयोजक महेन्द्र थापा मगरले अधिकारको आन्दोलन नसकिएसम्म निरन्तर गोलबन्द हुन आग्रह गरे । ‘बन्दुक बोक्नु मात्र लडाँई होईन, हामी अहिले पनि राजनीतिक अधिकार प्राप्तीको लडाँईमा छौं,’ उनले भने,‘नेपालमा नाम मात्रका संघीयता त्यसको मर्म विपरित छ । त्यसलाई सच्याउनका लागि हामी निरन्तर संघर्षमा छौं ।’
बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले राजनीतिक परिवर्तनको लागि मगर समुदायले खेलेको ईमान्दार भूमिका प्रशंसनीय भएको बताए । ‘मोर्चामा अगाडी लगाउने र अवसरमा पछि पार्ने गरिएको जो तपाईहरुको गुनासो छ,’ उनले भने,‘अलिकति विभेद भए जस्तो पनि देखिन्छ । हामी सामाजिक सामाजिक एकता कायम गरेर अगाडी बढ्नुपर्छ ।’ उनले राजनीतिक अधिकारको आन्दोलन सकिएकाले आर्थिक अधिकारका लागि समाजवादमा जानुपर्ने बताए । कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगर, नेकपाका नेता लिलबहादुर थपा, नेपाल मगरसंघ केन्द्रीय उपाध्यक्षद्वय दलबहादर विरकट्टा मगर, गंगा खासु मगर, नेकपा बागलुङका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य यामबहादुर घर्ती, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले राज्यले सबै जातजाति र भाषाभाषीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।
शुक्रबार सुरु भएको अधिवेसनले ५५ सदस्यीय प्रदेश समिति गठन गर्ने नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष खेमबहादुर पुनले बताए । अधिवेसनमा १० जिल्ला र ७४ स्थानीय तहबाट करिब तीन सय प्रतिनिधि सहभागी भएको र सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले जानकारी दिए । कार्यक्रम सञ्चालन मगर संघ प्रदेश सचिव पूर्णबहादुर रानाले गरेका छन् । अधिवेशन शनिबार सकिनेछ ।