खेमराज गौतम, बागलुङ, २०७५ पुस २८ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित सञ्चालक रामबहादुर जिसीलाई बहुउद्देश्यीय सहकारी संघ बागलुङले शनिवार सम्मान गरेको छ । बहुउद्देश्यीय सहकारी संघको चौथो वार्षिक साधारणसभाको अवसर पारेर गण्डकी प्रदेशका तर्फबाट सहकारी बैंकको सञ्चालकका निर्विरोध निर्वाचित जिसीलाई सम्मान गरेको हो ।
२०५० सालदेखि सहकारी अभियानमा लागेर सहकारी क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका जिसी गण्डकी प्रदेशको तर्फबाट निर्विरोध निर्वाचित हुनुले उहाँले सहकारीमा गरेको योगदानको सम्मान भएको बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवरले बताए ।
सहकारी बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद सावित्रा राना र संघका अध्यक्ष कुँवरले बैंंकका सञ्चालक जिसीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि सांसद रानाले समृद्ध नेपाल निर्माणका लागि सहकारीको योगदान महत्वपूर्ण हुने भएकाले थप सक्रियताका साथ अभियान जुट्न सहकारीकर्मीहरुलाई आव्हान गरिन् । सहकारीले जनताको आयस्तर माथि उठाई समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व राष्ट्रिय सहकारी बैंकका सञ्चालक जिसीले सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणसंगै पर्यटन क्षेत्रमा केन्द्रीत गर्न सुझाव दिए ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, काठेखोला गाउँपालिका वडा न.ं ६ का अध्यक्ष युक्तप्रसाद कंडेल, संघका सल्लाहकार अशोकगोविन्द राजभण्डारी, सहभागीका तर्फबाट रामरेखा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गिता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष कुँवरको अध्यक्षता, उपाध्यक्ष कुसुम बुढाको स्वागत र सचिव रुद्रबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाले सचिव केसीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजु केसीको आर्थिक प्रतिवेदन र लेखा संयोजक हुमबहादुर थापाको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।