Sorry, that menu does not exist.
 

काठखोला गाउँपालिकाको केन्द्र सुल्डाडामै राख्न सर्वदलीय सुझाव !

बागलुङ, २०७३ चैत ४ । स्थानीय तह पुनसंरचना अन्तर्गत बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र हाललाई विहुकोट गाविसको सुल्डाडामा मै सञ्चालन गर्न राजनीतिक दलका प्रतिनिधिहरुले सुझाव दिएका छन् । सरकारको निर्णयमा साविक विहुँ गाविसको कार्यालयलाई केन्द्र तोकिएपछी गाउपालिकावासीमा बिरोध सुरुभएको हो ।

पालादेखि सिगानासम्मका ६ वटा गाविस र दुई गाविसका ६ वटा वडा मिलेर बनेको काठेखोला गाउँपालिकाको केन्द्र सुल्डाडा अक्षेते नै उपयुक्त हुने दलका प्रतिनिधिहरुले सुझाव दिएका हुन् ।

काठेखोला गाउँपालिकाको आयोजनामा बिहीबार सुल्डाडामा सम्पन्न सर्वदलीय भेलाका सहभागीहरुले राजपत्रमा काठेखोला गाउँपालिकाको केन्द्र साविकको बिहुकोट गाविसको कार्यालय हटियामा उल्लेख भए पनि सहमतिका आधारमा सुल्डाडा अक्षेतेमै राख्नु पर्नेमा जोड दिएका हुन ।

राज्यले जनतालाई दिने सेवा सुविधा सहज र थप प्रभावकारी होस् भनेर संघीयता ल्याएको भन्दै दलका प्रतिनिधिहरुले सबैलाई पायक पर्ने, सुविधा हुने स्थानमा कार्यालय सञ्चालन गरेमा मात्रै संघीयता ल्याउनुको सार्थकता रहने बताएका थिए ।

राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव पछि सुल्डाडामा कार्यालय सञ्चालन गर्न घर बहालमा लिनका लागि टेण्डर गर्ने निर्णय भएको छ ।

कार्यक्रममा उपस्थित राजनीतिक दलका नेता कार्यकर्ताहरु मध्ये साविकका रेश गाविस, लेखानी, तंग्राम, धम्जा, भीमापोखरा, पाला र सिगानामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधिहरुले सुल्डाडा–अक्षेतेमै केन्द्र तोक्न आग्रह गरेका थिए । उनीहरुले बिहुकोट गाविसको हटियामा केन्द्र राख्दा एउटा वडा बाहेक सबै वडाका नागरिकलाई असहज हुने बताएका थिए ।

बिहु गाविस अन्तर्गत काठेखोला गाउँपालिका वडा नंं ५ मा क्रियाशिल दलका प्रतिनिधिहरुले राजपत्रमा उल्लेख भए अनुसार नै हटियामा केन्द्र हुनु पर्ने अडान राखेका थिए भने बिहुको तल्लो भाग गाउँपालिकाको वडा न ६ मा क्रियाशिल दलका प्रतिनिधिहरुले सुल्डाडा अक्षेते नै हुनु पर्ने माग गरेका थिए ।
काठेखोला गाउँपालिकाका ८ वटा मध्ये ७ वटा वडाका तर्फबाट राजनीतिक दलका प्रतिनिधिहरुले सुल्डाडा अक्षेतेमै केन्द्र राख्न सुझाव दिएकाले सोही अनुसार अगाडि बढ्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा काठेखोला गाउँपालिका अन्तरगत क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सिगाना गाविसको वडा नं ६, पाला गाविसको वडा नंं. १ देखि ५ सम्म, भीमापोखरा, धम्जा, तंग्राम, बिहु, रेश र लेखानी गाविस समावेश गरी ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा २२ हजार ८ सय ६५ जनसंख्या रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply