लक्ष्मण बिश्वकर्मा, पर्वत २०७५ माघ १४ । फलेवास नगरपालिका ५ खानीगाउंमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फलेवास नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा सोमबार उक्त कार्यक्रम मोती सामुदायिक पुस्ताकालयको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सरकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुले सेवा प्रवाह र सुशासनमा जोड दिनुपर्ने बताए । जिल्लाबाट हुने प्रायःजसो कामहरू अहिले स्थानीय तहबाट नै हुने भएको हुदा सरकारी कार्यालयले आफ्नो सेवालाई प्रभावकारी बनाउनुपर्ने ढकालको भनाई थियो। जिल्ला प्रशासन कार्यालय पर्वतबाट हुने सबै प्रकारका कामहरू बिना झन्झट भइरहेको उल्लेख गर्दै कुनै समस्या भए आफुसमक्ष गुनासो राख्न आग्रह गरे । स्थानीय तहले संचालन गर्ने कार्यहरूको योजना छनोट गर्दा सबैलाई समाबेश गर्न समेत उनले अनुरोध गरे ।
पछिल्लो समय नेपाल प्रहरीले संचालन गरेको समुदाय प्रहरी कार्यक्रम अति महत्त्वपूर्ण रहेको बताउदै प्रजिअ ढकालले कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सबै लग्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जनताको शान्ति सुरक्षाको लागि पर्वत प्रहरी हर प्रहर सक्रियताका साथ लागि परिरहेको बताए ।
समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जनतालाई सचेत गराउन, शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र आफ्ना कार्यक्रमलाई सफल कार्यान्वयन गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको प्रनाउ तिवारीको भनाई थियो ।
पर्वत जिल्लाका ७ स्थानीय तह ६१ वडा, जिल्लाभरका बिधालय र टोलटोलमा गरि १ सय भन्दा बढी समुदाय प्रहरी साझेदारी समिति गठन गरि कृयाशिल भएर टोलटोलमा पुगि समुदायको सहकार्यमा विभिन्न चेतनामूलक कार्यक्रमहरु समेत संचालन गर्दै आएको उनले बताए ।
उक्त कार्यक्रम लागू भएसंगै समाजमा हुने घरेलु हिंसा,महिला हिंसा, लैङ्गकि हिंसा, बलात्कार,बाल विवाह, बहु बिबाह ,झैझगडा, जुवातास, लागु औषध सेवन तथा कारोबार जस्ता घटनाहरुमा कमि आएको तिवारीको भनाई थियो। बिगतमा विभिन्न घटना घटाइ फरार भएका अपराधीलाई धमाधम खोजतलास गरि कानुनी दायरामा ल्याए कारबाही प्रक्रिया अगाडी बढाएको तिवारीको बताए ।
त्यस्तै कार्यक्रम बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिका भित्रका अपराध तथा विकृति रोक्न र बिपत्तिका कुरामा प्रहरीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । नगरपालिकाले बिपदकाको समय उद्दार र ब्यावस्थापनका लागि २५ लाख बजेट छुटाएको समेत जानकारी दिए । नगरपालिकाले आफै ३२ वटा कानुन बनाई सोही कानुनको परिधिभित्र रहेर कार्यहरु गरेको र योजनाको पुस्तक तयार गरि सोही अनुसार बिकास र समृद्धिका कार्यहरू गरिरहेको नगरप्रमुख शर्माले बताए ।
नगरपालिकामा बिकासका पुर्वधारहरु धमाधम बनेको बताउदै फलेवासबाट बसाई गएका फेरि फर्केर यहि ठाउँमा आउने समेत दाबी गरे । करिब ७० प्रकारका सिफारिस नगर तथा वार्डबाट हुने बताउदै अब बिस्तारै जनताले सिंहदरबारको अधिकार गाउँमा नै प्राप्त गर्ने शर्माले बताए । नगरपालिका भित्र हुने बाल श्रम शोषण, महिला हिंसा लैङ्गकि हिंसा तथा अन्य हिंसाहरुको नगरपालिकाले बिस्तारै निर्मुल पर्दै जाने बताए । आफू बिकास निर्माणका कार्यमा तल्लीन भएर लगेको बताउदै फलेवासमा युवा महिला दलित तथा सबैलाई अनुदान प्रदान गर्दै स्वारोजगार बनाउने अभियानमा लागेको पनि उनले बताए ।
कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारिले नगरपालिकामा प्रहरीले सक्रियताका साथ परिणाममुखी काम गरेकोमा खुशी व्यक्त गर्दै प्रहरीको प्रशंसा गरिन् । नगरबासी जनताका हरेक समस्याहरु समाधान गर्न नगरपालिकाको ध्यान केन्द्रित भएको अधिकारीको भनाई थियो । नगरपालिकाले अहिलेसम्म घर जग्गा वैदेशिक रोजगारीले निम्त्याएको समस्या तथा लेनदेनको समस्या र अन्य समस्याहरु गरि १७ वटा केशको न्यायीक समिति मार्फत समाधान गरेको अधिकारीले बताईन् । नगरपालिकाको उज्ज्वल भविष्य निर्माण गर्न आफू निरन्तर लागि परिरहेको समेत नगर उपप्रमुख अधिकारीले बताईन।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जिल्ला प्रहरी कार्यालयबाट भएका कार्यक्रम तथा गतिविधिको बारेमा जानकारी गराएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा फलेवासका प्रवक्ता तथा वार्ड नं।४ का वार्ड अध्यक्ष टिकाराम गौडेल, ५ का वार्ड अध्यक्ष दिपक शर्मा पौडेल, ६ का वार्ड अध्यक्ष भोलानाथ भुषाल, ११ का वार्ड अध्यक्ष जित बहादुर सुनार शेरबहादुर, वार्ड सदस्य गोबिन्द पौडेल, कार्यपालिका सदस्य केशा परियार, समाजसेवी ठाकुर प्रसाद भुसाल, भरत कुमार श्रेष्ठ, प्रिया कुमारी क्षेत्री, बल बहादुर क्षेत्री, पर्वत बहुमुखी क्याम्पसका प्रमुख खिल प्रसाद शर्मा लगाएत २४ जनाले आफ्ना जिज्ञासा् तथा गुनासो राखेका थिए ।
कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरु, स्थानीय जनप्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण फलेवास नगरपालिकाका योजना व्यावस्थापक देविप्रसाद तिमिल्सिनाले गरेका थिए ।