सुमन सुनार, बुर्तिबाङ २०७५ माघ २३ । आगामी फागुन १०, ११ र १२ गते ढोरपाटन नगरपालिका –१ बुर्तिबाङमा निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविर सञ्चालन हुने भएको छ ।
ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निःशुल्क आखाँ शिविर सञ्चालन हुने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले ईबागलुङलाई जानकारी दिए ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने उक्त निशुल्क शिविरमा आँखाका रोगीहरुको निःशुल्क रुपमा चेकजाँच तथा उपचार, मोतीविन्दु भएका विरामीहरुको निःशुल्क अपरेशन गरिनुका साथै औषधी र चस्मा समेत निःशुल्क वितरण गरिने अधिकृत पोखरेलले बताए ।
तिन दिन सम्म सञ्चालन हुने शिविरमा जटिल खालका अपरेशन गर्नुपर्ने विरामीहरुका लागि खान, बस्नका लागि ढोरपाटन नगरपालिकाले व्यवस्थापन गर्नेछ भने ओढ्ने बिछ्याउने सामाग्री र कुरुवाको व्यवस्थापन विरामी आफैले गर्नुपर्ने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेलले बताए ।
बुर्तिबाङ बजार ।
शिविरमा पश्चिम बागलुङका ढोरपाटन सहित बडीगाड, निसी, र तमानखोला लगायत गुल्मी जिल्ला आसपासका क्षेत्रका आँखाका रोगीहरुले सेवा लिने अपेक्षा गरिएको सिनियर अहेव पौडेलले बताए । यस अघिका शिविरमा नाम दर्ता तथा टिकट बापतको शूल्क लिइदै आएकोमा यस पटक भने पुर्ण रुपमा निःशूल्क गरिएको पौडेलको भनाई छ ।
यसैविच शिविर सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा आज ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा जन प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवी एवं सरोकारवालाहरुको बैठक बसेको छ । ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीको अध्यक्षतामा बसेको बैठकले शिविरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि जिम्मेबारी तोकिएको छ ।
जस अनुसार कर्मभुमी फाउण्डेशनलाई स्वयम् सेवक व्यवस्थापन, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङलाई बिरामीहरुका लागि खानपिन र आवासको व्यवस्थापन, समन्वय र बिरामीको बसाई व्यवस्थापनका लागि ढोरपाटन नगरपालिका र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिम्मेबारी दिइएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट आउने विशेषज्ञ डाक्टरहरुको टोलीलाई खान, बस्नको व्यवस्था नगरपालिका आफैले गर्ने अधिकृत पोखरेलको भनाई छ । शिविर सम्पन्न गर्नका लागि नगर कार्यपालिकाको निर्णय अनुसार सम्पुर्ण खर्च नगरपालिकाले व्यहोर्ने र करिव २ लाख ५० हजार खर्च अनुमान गरिएको उनले बताए ।
उता गत सोमबार ढोरपाटन नगरपालिका–७ बोबाङमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखरा र उपल्लाचौर आँखा उपचार केन्द्र बागलुङको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ७३ जना महिला र ४३ जना पुरुष गरी १ सय १६ जना आँखाका रोगीहरुको निःशुल्क आँखा चेकजाँच तथा औषधी वितरण गरिएको थियो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव पौडेलका अनुसार शिविरमा ५ जना अत्यन्त जटिल खालका आँखाका रोगीहरु फेला परेको र उनिहरुलाई सामान्य औषधी उपचार पछि हिमालय आँखा अस्पताल पोखरा र तिलगंगा आँखा अस्पताल काठमाण्डौ रिफर गरिएको छ । यस्तै ६ जना मोतीविन्दु भएका विरामी फेला परेको उनको भनाई छ । मोतिविन्दु भएका उनिहरुको पनि बुर्तिबाङमा फागुन १०, ११ र १२ गते शिविरमा आँखा अप्रेशन तथा उपचार गरिने उनले जानकारी दिए ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराद्धारा सञ्चालित उपल्लाचौर आँखा उपचार केन्द्र बागलुङका वरिष्ठ नेत्र सहायक विनम लामिछाने, अप्टिसियन विक्रम कुमार श्रेष्ठ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव पौडेल र बोबाङ स्वास्थ्य चौकीका अ.हे.व गंगालाल देवकोटा सहितको विशेषज्ञ डाक्टरहरुको टोलीले आँखाका रोगीहरुको आँखाको चेकजाँच तथा उपचार गरेका थिए ।