बागलुङ, २०७३ चैत ५ । स्थानीय तहको निर्वाचन घोषणा भएसंगै बागलुङ नगरपालिकाका विभिन्न वडामा उमेदवारको चर्चा हुन थालेको छ ।
राजनीतिक दलहरुले राजनीतिक केन्द्रीत अभियानलाई तिब्रता दिन थालेका छन् । यसै सन्दर्भमा नेकपा एमालेले शनिवार बागलुङ नगरपालिका ८ सिगानामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
भेलाले बानपा–८ सिगानाका लागि उमेदवार छनोट गर्नका लागि सुरेश मल्लको संयोजकत्वमा ९ सदस्यीय उमेदवार छनोट समिति गठन गरेको छ । समितिका सदस्यहरुमा राजन जि.सी, हरिबहादुर जिसी, गणेशबहादुर खड्का, सरस्वती नेपाली, डिलबहादुर खड्का, गोविन्द गौतम, जगत जिसी र लालबहादुर थापा रहेका छन् ।
भेलाबाट चैत १२ गते जनवर्गिय संगठनको भेला गर्ने, टोल कमिटी गठन गरी निर्वाचित केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
भेलामा बोल्दै एमाले बागलुङका सचिवालय सदस्य डिल्लीराज गौतमले आगामी निर्वाचनबाट एमालेले देशव्यापी रुपमा पहिलो पार्टी बनाउनका लागि सम्पूर्ण नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा सिगानाका इन्चार्ज अञ्जु जिसीले समाज रुपान्तरणका लागि एमालेले गरेका सकात्मक कामहरु जनताको हितमा भएकाले एमालेलाई सहयोग गर्ने जनताको संख्या बढी रहेको बताईन ।
कार्यक्रममा एमाले क्षेत्रीय उपसचिव मनोज विकले हरेक जातजाती, भाषाभाषी धर्म संप्रदायका जनताको हक अधिकार सुनिश्चित गर्नका लागि एमालेलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रम वडा अध्यक्ष सुरेश मल्लको अध्यक्षता, भद्रबहादुर कार्कीको सञ्चालन र गणेश खड्काको स्वागतमा सम्पन्न भएको थियो ।