बुर्तिबाङ देखि ढोरपाटन सम्म सडकको स्तरोन्नती ढोरपाटन नगरपालिका आफैले गर्ने !
सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन ७ । ढोरपाटन नगरपालिकाले चौँथो नगर सभा सम्पन्न गरेको छ । नगर सभाबाट नगरपालिकाको गत असार २७ मा सम्पन्न तेस्रो नगरसभाबाट पारित भएका योजना र कार्यक्रमहरुको संशोधन तथा परिवर्तनका साथै ५ वटा कार्यविधि सहित १ विधेयक पारित गरिएको छ ।
नगर सभालाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जन प्रतिनिधिहरु एकताबद्ध भएर नगरको विकासमा लाग्न आवश्यक रहेको बताए । ढोरपाटन नगरपालिका नेपाल कै नमुना नगरपालिका रहेको भन्दै नगरको विकास र समृद्धिका निम्ती जनप्रतिनिधिहरुले कुरा भन्दा पनि काम गरेर देखाउन आवश्यक रहेको उनको भनाई थियो ।
नगर प्रमुख नेपालीले उपभोक्ता समिति जनताको पक्षमा काम गर्नु भन्दा नाफामुखी बन्ने प्रबृतिले विकास अवरुद्ध हुनुका साथै विनियोजित बजेट बालुवामा पानी सरह भएको बताए । आगामी दिनमा जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा विकास निर्माणका काम गर्न सके पारदर्शी र थारै बजेटमा दीर्घकालीन योजनाहरु निर्माण हुने नगरप्रमुख नेपालीको भनाई थियो ।
नगरपालिकाको ढोरपाटन जस्तो सम्भावनायूक्त पर्यटकीय स्थल वर्षौंदेखि चर्चामा रहे पनि ढोरपाटन – सालझण्डी सडक निर्माणमा ढिलाइ हुँदा ढोरपाटन घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले सास्ती खेप्नु परिरहेको नगर प्रमुख नेपवालीले बताए । सडकको अवस्थाबारे आयोजनामा पटक–पटक चासो राख्दा पनि ढिलाइ भएको टिप्पणी गर्दै नगर प्रमुख नेपालीले बुर्तिबाङ देखि ढोरपाटन सम्म पुग्ने सडकको स्तरोन्नती अव ढोरपाटन नगरपालिका आफैले गर्नुपर्ने अवस्था आएको उनको बुझाई छ । आफुले ढोरपाटन नगरपालिकाको सधै विकास र समृद्धि चाहेको र हरपल प्रयास गरिरहेको भन्दै अन्य स्थानिय तहको तुलनामा ढोरपाटन नगरपालिकामा राम्रो काम भएको नगर प्रमुख नेपालीले बताए ।
त्यस्तै ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि सम्पुर्ण जनप्रतिनिधिले जनचाहना अनुरुप आफ्नो जिम्मेबारी बहन र जनताको समस्यालाई संबोधन गर्दै जानुपर्नेे बताईन् । आगामी दिनमा अझै सशक्त रुपमा जनप्रतिनिधि सहित कर्मचारीहरुको समन्वयमा विगतका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्ने उप–प्रमुख पुनले बताईन । उनले नगर सभामा प्रस्तुत गरिएका प्रस्तावहरु सौहार्दपूर्ण बातावरणमा अनुमोदन गरिएको भन्दै सदस्यहरु प्रति आभार ब्यक्त गरिन् ।
यस्तै सभामा वडा नं. ७ का वडा अध्यक्ष दिपक थापा, वडा नं. ५ का वडा अध्यक्ष लक्षमण पुनले ढोरपाटन नगरपालिकाको विकास र समृद्धिको सम्बन्धमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सभामा बजेट संशोधन र योजना परिवर्तनका सम्बन्धमा तयार गरिएको प्रस्ताव वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले प्रस्तुत गर्नुभएको थियो । वडा अध्यक्ष पुनद्धारा प्रस्तुत गरिएको सो प्रस्ताव माथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरिएको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष ०७५÷०७६ को योजना र कार्यक्रमहरुको संसोधन तथा परिवर्तन गरेको छ भने ५ वटा कार्यविधि सहित १ विधेयक निर्माण गरी पारित गरेको छ । जस अन्तर्गत तार जाली वितरण सम्बन्धी कार्यविधि, विपद व्यवस्थापन सम्बन्धी कार्यविधि, पाईप वितरण सम्बन्धी कार्यविधि, आर्थिक सहायता वितरण सम्बन्धी कार्यविधि र आपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धी कार्यविधि निर्माण गरी सर्वसम्मत रुपमा पारित गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
त्यस्तै न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरिएको छ । न्यायिक समितिका संयोजक तथा नगरपालिकाका उप–प्रमुख पूनव्दारा सभामा प्रस्तुत गरेको उक्त विधेयक छलफल पछि सर्वसम्मत पारित भएको छ ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीको अध्यक्षता रहेको नगर सभामा ढोरपाटन नगरपालिकाका सम्पुर्ण वडाका जनप्रतिनिधि, कार्यपालिकाका सदस्य, नगर कार्यपालिकाका कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगरको स्वागत मन्तब्य रहेको नगर सभाको सञ्चालन ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले गर्नुभएको थियो ।