Sorry, that menu does not exist.
 

आजको तस्वीर : बलेवा महोत्सवमा प्याराग्लाईडिङको आकर्षण !

बागलुङ २०७५ फागुन ११ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा प्रथम बलेवा महोत्सव जारी छ । गत फागुन २ गते शुभारम्भ भएको बलेवा महोत्सव भोलि फागुन १२ गते समापन हुँदैछ । महोत्सव समापनको अघिल्लो दिन आज शनिवार प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानव्दारा आयोजित प्रथम बलेवा महोत्सवमा आज प्याराग्लाईडिङ उडान दर्शकहरुको आकर्षणको केन्द्रविन्दुमा रहन गयो । प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी खरेल, बागलुङ नगरपालिका १४ का वडाध्यक्ष चक्रबहादर खत्री, बागलुङ नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवन्धक सूर्यबहादुर खत्री सहितको टोलीले प्याराग्लाईडिङ उडान भरेको थियो । प्रजिअ खरेल र अन्य सदस्यहरु भकुण्डे मुलाबारीबाट उडान भर्दा स्थानीयहरुले लालीगुँरासको फुलले अतिथीहरुको स्वागत गरेका थिए ।

उडान पछी प्रमुख अतिथी खरेलले प्याराग्लाईडिङमा उडान भर्दाको अनुभव महोत्सवमा साझा गर्दै यस उडानलाई निरन्तरता दिन सके बलेवा क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । प्रजिअ खरेलले बागलुङ नगरपालिका १० भकुण्डेको मुलाबारी नजिक पहरेडाँडाबाट प्याराग्लाईडिडबाट उडान भर्दा बलेवा उपत्यका, बागलुङ कालिका, कालीगण्डकी, कुस्माबजार लगायत यस क्षेत्रका यान्त्रिक पुल, अग्ला र लामा झोलुंगे पुलहरुको मनोरम दृश्य अवलोकन गर्दाको अनुभव साझा गर्दै यस प्याराग्लाईडिङ उडानलाई निरन्तरा दिन नागरिक उड्डयन प्राधिकरण सहित अन्य नियमनकारी निकायरुबाट यस्को सम्भाव्यता अध्ययन गरी प्राविधिक दृष्टिले कति सम्भव हुन्छ त्यसबारे निक्र्यौल गर्न आवश्यक रहेको बोध गराए ।

बलेवा बिमानस्थलबाट सवारी साधनमा करीब एक घण्टाको उकालो उक्लिएर भकुण्डेको मुलाबारी उडान स्थल पुगिने अनुभव सुनाउदै प्रमुख अतिथी खरेलले मुलाबारीबारीबाट उडान गरी बलेवा बिमानस्थलमा अवतरण गर्दा सम्मको अनुभव साझा गरेका थिए ।

बागलुङ नागरिक उड्डयन प्राधिकरणका प्रमुख खत्रीले भकुण्डेको मुलावारीबाट प्याराग्लाईडिङ उडान भर्न एकदम उपयुक्त रहेको चर्चा गर्दै यसलाई अवतरण ल्याण्डिङ गर्ने उपयुक्तास्थानको खोजी गर्नु पर्ने बताए । बलेवा बिमान स्थलमा अवतरण गर्न मिल्दैन र ? भन्ने ईबागलुङको प्रश्नमा प्रवन्धक खत्रीले, बलेवा महोत्सवको लागि मात्र भनेर केहि दिनलाई प्राधिकारणबाट स्वीकृति लिएर सन्चालनमा ल्याईएको जानकारी दिँदै बिमानस्थल र यसको आसपासमा उडान भर्न र अवतरण गर्न सम्भव नहुने बताए ।

लेकभ्याली प्याराग्लाईडिङ पोखराका प्यारा पाईलट टेकबहादुर थापाले उचाई १७ सय ६० रहेको भकुण्डेको मुलाबारीबाट उडान भर्न उपयुक्त भएको बताउदै यसलाई अवतरण गर्नका लागी बलेवा बिमानस्थलको बिकल्प खोज्नु आवश्यक रहेको पनि जानकारी दिए । उनले बलेवा महोत्सव आयोजक समितिको समन्वयमा फागुन २४ गते सम्म प्याराग्लाईडिङ उडान भर्ने नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर प्याराग्लाईडिङ उडान सन्चालनमा ल्याएको ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply