Sorry, that menu does not exist.
 

निःशुल्क आँखा शिविर सम्पन्न : ढोरपाटन नगरपालिकाको व्यवस्थापन प्रति डा. गुरुङद्वारा आभार व्यक्त !

सुमन सुनार,बुर्तिबाङ २०७५ फागुन १३ । ढोरपाटन नगरपालिका –१ बुर्तिबाङमा शुक्रबार देखीे सञ्चालित निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविर आज सम्पन्न भएको छ । आईताबार तिन दिन सम्म जारी रहने भनिए पनि मोतिविन्दुको अप्रेशन गर्नुपर्ने विरामीको संख्यामा बृद्धि भएपछि १ दिन थप गरी ४ दिन अर्थात आज सम्म शिविर सञ्चालन गरिएको थियो ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा १ हजार ३ सय ५६ जना आँखाका रोगीहरुले सेवा लिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.कृष्णहरी श्रेष्ठले जानकारी दिए । जस मध्य ६ जना जटिल खालका विरामी सहित ८६ जना मोतिविन्दु भएका विरामीहरुको सफल अप्रेशन गरिएको मेडिकल अधिकृत श्रेष्ठले ईबागलुङलाई बताए । अन्य आँखाका रोगीहरुको चेकजाँज पछि आवश्यक औषधी तथा चस्मा वितरण गरिएको मेडिकल अधिकृत श्रेष्ठको भनाई छ । शिविरमा जटिल खालका अपरेशन गर्नुपर्ने विरामीहरुका लागि खान, बस्नको व्यवस्थापन सहित शिविर सञ्चालनको सम्पुर्ण खर्च ढोरपाटन नगरपालिकाले व्यवस्थापन गरेको थियो ।

शिविरमा हिमालय आँखा हस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. हरिमायाँ गुरुङ सहित विशेषज्ञ डाक्टरहरुको टोलीव्दारा आँखाको चेकजाँच तथा उपचार गरिएको थियो । ढोरपाटन नगरपालिका सहित बडीगाड, निसीखोला र तमानखोला गाउँपालिका लगायत गुल्मी आसपासका क्षेत्रका गरिव तथा विपन्न परिवारका बृद्ध बृद्धा तथा बालबालिकाहरु शिविरबाट लाभांवित भएका छन् ।

यस अघिका शिविरमा नाम दर्ता तथा टिकट बापतको शूल्क लिइदै आएकोमा यस पटक भने पुर्ण रुपमा निःशूल्क गरिएको थियोे ।
शिविरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि स्वयं सेवक व्यवस्थापन, बिरामीहरुका लागि खानपिन र आवासको व्यवस्थापन, समन्वय र बिरामीको बसाई व्यवस्थापन लगायतका व्यवस्थापनमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सहित स्थानिय सामाजिक संघ संस्था कर्मभुमी फाउण्डेशन, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङले सहजिकरण गरेका थिए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित उक्त शिविरको समापन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले हिमालय आँखा अस्पतालले पश्चिम क्षेत्रको दुर्गम स्थानमा रहेको ढोरपाटन नगरपालिकामा आएर सेवा दिएको भन्दै धन्यवाद ज्ञापन गर्दै काठमाण्डौ, पोखरा, बुटवल जस्ता शहरमा पुगेर सुविधा सम्पन्न अस्पतालमा पुगेर उपचार गर्न नसक्ने ग्रामिण भेगका गरिव तथा विपन्न परिवारका नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले नगरपालिकाले शिविरको आयोजना गरेको बताए । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउँदै आगामी दिनमा नगरपालिकाबाट यस्ता खालका अन्य रोगहरुको शिविर पनि सञ्चालन हुने नगरप्रमुख नेपालीले जानकारी दिए ।

यस्तै हिमालय आँखा हस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. हरिमायाँ गुरुङले शिविरमा प्राविधिक काम गर्नका लागि सहज वातावरण सृजना गरेको भन्दै सवैमा धन्यवाद व्यक्त गरिन । उनले ढोरपाटन नगरपालिकाले आर्थिक व्यवस्थापन गरि पश्चिम बागलुङको दुर्गम भेगमा आएर सेवा दिने मौका प्रदान गरेको भन्दै नगरपालिका प्रति आभार व्यक्त गरेकी थिईन् । साथै आगामी दिनमा पनि नगरपालिकाले आयोजना गर्ने आँखा उपचार सम्बन्धि कार्यक्रमहरुमा हिमालय आँखा अस्पतालको सक्दो सहयोग रहने आँखा रोग विशेषज्ञ डा. गुरुङले बताईन ।
समापन कार्यक्रम कै अवसरमा हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डाक्टरहरुको टोलीलाई ढोरपाटन नगरपालिकाले मायाँको चिनो प्रदान गर्दै सम्मान समेत गरेको थियो ।

समापन कार्यक्रममा जनप्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवि एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply