कमल पौडेल, मुसिकोट, गुल्मी २०७५ फागुन १९ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले महायज्ञवाट उठेको रकम शिक्षाको भौतिक पूर्वाधारमा खर्च हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । महेन्द्र आदर्श मावि मुसिकोट नगरपालिका वडा नं. ७, वामी टक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा सातौं दिनको कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।
नगरप्रमुख सापकोटाले शिक्षा र स्वास्थ्यको जिम्मा पूर्णरुपमा राज्यले लिने भन्दै महेन्द्र आदर्श माविको लागि यो वर्ष ४ कोठे भवन र अर्को वर्ष ६ कोठे भवन निर्माण गर्ने घोषणा गर्दै मुसिकोट नगरभित्रका महेन्द्र आदर्श मावि र त्रिभुवन मावि भुवाचिदीलाई सुविधा सम्पन्न आवासीय विद्यालय वनाउने बताए । दुवै विद्यालयमा यातायातको लागि वसको व्यवस्था गर्ने, लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण जिम्मा आफूले लिन तयार रहेको भन्दै शैक्षिक गुणस्तरमा लाग्न विद्यालय प्रशासन र शिक्षकहरुलाई आग्रह गरे । सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षाको अभाव रहेको भन्दै विद्यार्थी निजि विद्यालयतर्फ आकर्षित भएको प्रसंग कोट्याउँदै मेयर सापकोटाले उचित शिक्षा र स्वास्थ्यकै अभावमा स्थानिय वसाइसराई गर्न वाध्य भएको वताउनु भएको छ। वामीटक्सारलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागिएको भन्दै मनफुकाएर दान गर्न सवैलाई आग्रह समेत गरे ।
कार्यक्रम मुल समारोह समितिको सल्लाहकार समितिका संयोजक कृष्णहरी सापकोटाको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक रामचन्द्र सापकोटा संचालनमा सम्पन्न भएको थियो ।
विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् । कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ । सातौं दिन सम्म ४ करोड ७१ लाख ३७ हजार रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य नजिक रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ ।
२०१६ सालमा स्थापना भई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन्। कार्यक्रमको फागुन १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले उद्घाटन गरेका थिए ।