बागलुङ २०७५ फागुन २१ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले निबन्धकार एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र अन्वेषक डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने भएको छ । शर्माको आत्मपरक निबन्ध कृति ‘बाह्रखरीको बोटमुनी’ र मिश्रको अनुसन्धानमूलक कृति ‘नेपाली पुरस्कारको इतिहास’ का लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
पुरस्कारको राशि जनही रु. २५ हजार रहेको गुठीले जनाएको छ । यस्तै गुठीले यो वर्षको जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार म्याग्दीका संस्कतिविद् प्राडा कर्णबहादुर बानियाँलाई प्रदान गर्ने भएको छ ।
बानियाँको ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ ग्रन्थ पुरस्कारका लागि छनौट भएको गुठीका संस्थापक संरक्षक प्रेम छोटाले बताउनुभयो । उक्त पुरस्कारको राशि पनि रु. २५ हजार रहेको छ ।
यस्तै गुठीले यसै वर्ष स्थापना गरेको ‘धवलागिरि प्रतिभा पुरस्कार’ पर्वतका साहित्यकार साधना प्रतिक्षालाई प्रदान गरिने भएको छ । प्रतिक्षाको ‘नारी समस्याका आलोकमा रिमालका नाटक’ कृतिका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारको राशि रु. १५ हजार रहेको छ । यस्तै बागलुङका स्व. गणेशप्रसाद श्रेष्ठ तथा विष्णुकमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित ‘गुरु गणेश स्मृति पुरस्कार’ मुक्तिनाथ वेद विद्याश्रम माविका कुँडुले, बागलुङका विद्यार्थी अच्युत बराललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु. ५ हजार रहेको छ ।
आउँदो चैत तेस्रो साता पर्ने रत्नकुमारी श्रेष्ठको १११ औँ पुण्यतिथी एवं ४२ औँ स्मृति दिवसका अवसरमा पुरस्कार वितरण गरिने गुठीका सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिए । गुठीले हरेक दुई/दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।
साहित्कार एवं संस्कृतिकर्मी छोटाले आफ्नी स्वर्गीय आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार स्थापना गर्नुभएको थियो । रत्न श्रेष्ठ पुरस्कार गुठीलाई देशकै जेठो मध्येको एक पुरस्कार संस्था मानिन्छ ।
‘भाषा, साहित्यको उत्थानमा लागेका स्रष्टाहरुको सम्मानका लागि पुरस्कार गुठी स्थापना भएको हो’ संस्थापक संरक्षक छोटाले बताए ।