कोपिला कँडेल, बागलुङ, २०७५ फागुन २२ । बागलुङ नगरपालिकाले स्वच्छ तरकारी तथा फलफुल बिक्री वितरणका लागि कृषि हाट बजार सञ्चालन गर्न रु ५ लाख विनियोजन गरेर काम अगाडी बढाएको बानपा ३ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक जीवन आचार्यले जानकारी दिएका छन् ।
बानपा–३ गुठी स्थित क्षेत्री समाजको भवन नजिकै एक रोपनी जग्गा ५ बर्षका लागि भाडामा लिएर काम सुरु गरिएको छ ।
कृषि तथा कृषिजन्य बस्तुहरुको बिक्रि बितरण गर्ने र यस क्षेत्रका कृषकहरुको आर्थिकस्तर बृद्धि गर्ने उद्देश्यका साथ कृषि हाट बजार संचालन गर्न यस बर्ष टहरा हाल्ने काम गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यसैबिच जिल्ला कृषि सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा भएको किसानहरुको भेलाले हाट बजारको आवश्यक काम अगाडी बढाउन उपभोक्ता समिति गठन गरेको छ । समितिको अध्यक्षमा पुष्पा पुन, सचिव सीता शर्मा, कोषाध्यक्ष धनबहादुर कार्की र सदस्यहरुमा रेशम थापा, धुर्व श्रेष्ठ, पविन्द्रकुमारी मल्ल, टिकाराम सापकोटा रहेका छन् ।
यस्तै नरबहादुर थापा संयोजक, गंगा थापा र भगवती पाध्या सदस्य रहेको ३ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।
स्मरणीय छ, बिगतका समयमा पनि सदरमुकाम तथा जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा हाटबजार सन्चालन गरिएको हो, तर पछिल्लो समय जिल्लामा कुनै हाटबजार सन्चालनमा छैनन् ।