Sorry, that menu does not exist.
 

सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयको यो दुर्दशा, कस्ले देख्ला ?
हावा हुरीले विद्यालयको छानो उडाए पछि खुल्ला आकास मुनि यसरी पढ्छन बिद्यार्थी !

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन २२ । हावा हुरीले ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ स्थित सरस्वती आधारभुत विद्यालयको छानो उडाइदिए पछि पठन पाठनमा समस्या भएको छ ।

गत ९ गते विहिबार बिहान पखको हुरीले विद्यालय भवनको छानो उडाइदिए पछि बाल बालिकाहरुलाई खुल्ला आकास मुनि राखेर पठन पाठन सञ्चालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र कुमार घर्ती मगरले बताए । प्रधानाध्यापक घर्तीका अनुसार हुरीले कक्षा १, २ र ३ सञ्चालनमा रहेको तिन कोठे भवन, कक्षा ४, ५, ६ र ७ सञ्चालनमा रहेको ४ कोठे भवन र कक्षा ८ सहित विद्यालयको कार्यालय रहेको २ कोठे भवनको छानो उडाइदिएको छ । त्यसैगरी विद्यालयको बालशिक्षाको भवन र शौचालयको छानो समेत हुरीले उडाइदिएको अध्यक्ष घर्तीले बताए ।

विद्यालयको आर्थिक अवस्था नाजुक रहेकोले तत्काल पुनःनिर्माण तथा छानो छाउन कठिनाई भएकाले विगत १२ दिन देखि विद्यार्थीहरुलाई विद्यालयको खेल मैदानमा खुल्ला आकास मुनि राखेर पढाउन बाध्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर घर्ती (जीवन)ले बताए । हुरीले छानो उडाएपछि विद्यालय भवन निकै जोखिमपुर्ण अवस्थामा रहेकाले अन्य आंशिक क्षती पुगेका कक्षा कोठामा पनि पठनपाठन सञ्चालन गर्न नसकिएको अध्यक्ष घर्तीको भनाई छ । बेला बेलामा हुरी चलिरहने भएकाले कुन समयमा के हुन्छ थाहै नहुने भन्दै मानविय क्षती नहोस भनेर बालबालिकालाई खेल मैदानमा राखेर पठनपाठन सञ्चालन गरिएको उनले बताए ।

खुल्ला आकास मुनि बालबालिकालाई राखेर अध्यापन गराउँदा धुलो र आकासे पानीका कारण निकै समस्या हुने गरेको उल्लेख गर्दै प्र.अ. घर्तीले विशेष गरी स–साना बालबालिकालाई समस्या हुने गरको बताए ।

शौचालयको छानो हुरीले उडाए पछिे शिक्षक, शिक्षिका, छात्र छात्रालाई समस्या भैरहेको छ । हुरीका कारण करिव ६ लाख बराबरको क्षती पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्तीको भनाई छ । पुनःनिर्माणमा सहयोगका लागि ढोरपाटन नगरपालिका सहित अन्य सम्बन्धित निकायमा माग गरिएको र सहयोग प्राप्त भए छिटै बिद्यालय भवन मर्मत हुने घर्तीले बताए ।

यस बारे ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले नगर कार्यपालिकाले निर्णय गरे बमोजिम क्षती पुगेका विद्यालयहरुमा जस्ता पाता सहित पुनःनिर्माणका लागि आवश्यक राहत उपलब्ध गराइने जानकारी दिए ।

२०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका करिव ३ सय २५ जना विद्यार्थीहरु अध्यायनरत रहेका छन् । उक्त विद्यालयमा बोबाङ, सुकुरदुङ, मोम्ला, जुरी, पहिरा, ओखलढुंगा, दुवाल, फल्लेघर, कुँगु, सुप्राङ, मर्मा, मसुरी, विजौले लगायत आसपासका क्षेत्रका बालबालिका अध्यायनरत रहेका छन् ।
यो पनि…
हावा हुरीले ढोरपाटन-९ सुकुर्दुङ सरस्वती आधारभुत विद्यालयको छानो उडाउदा पठन पाठन नै बन्द !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply