निर्मल पौडेल, पर्वत २०७५ फागुन २४ । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि रोट्रयाक्ट क्लब अफ पर्वतले सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी रोट्रयाक्ट सप्ताह मनाउने भएको छ । क्लबले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सप्ताह अन्तर्गत ६ दिनमा आयोजना गरिने ७ ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा वोल्दै रोट्रयाक्ट सप्ताह कार्यक्रमका मूल संयोजक मिना खड्काले यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको जानकारी दिएकी छन् । खड्काका अनुसार सप्ताहको पहिलो दिन फागुन २७ गते सप्ताहको उद्घाटन र सम्मान कार्याक्रम राखिएको छ । यस्तै, २८ गते कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यमिक बिद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम, २९ गते विश्व रोट्रयाक्ट दिवसको अवसरमा रोट्राक्ट्रीयनहरुको बीचमा बैठक गरी केक काटेर दिवस मनाउने, ३० गते मोदी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम, चैत १ गते रोट्रयाकयाक्टमा आवद्ध भएका तथा नभएकाहरुका लागि पेशागत विकासको लागि बेसिक सेयर तालिम र चैत २ गते अन्तिम दिन बडागाउँमा रहेका झोलुङ्गे पुलहरुमा सरसफाईको साथै सप्ताहको समापन कार्यक्रम राखिएको छ । अन्तिम दिनमा बडागाउँ क्षेत्रको फोहोर व्यवस्थापनको लागि डस्टबीन पनि राखिने कार्यक्रम तय भएको छ ।
रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेल टु आर जी को अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत उपाध्यक्ष कामना रेग्मीले गरेकी थिइन । त्यस्तै कार्यक्रमको संचालन रोट्रयाक्टीयन गणेश पौडेलले गरेका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वतका रोट्रयाक्ट्रीयनहरु बिनोद आचार्य र मिलन पौडेल लगायतले वोलेका थिए । यस बर्षको सप्ताहका कार्यक्रमहरु पूरा गर्नको लागि झण्डै १ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजक क्वले अनुमान गरेको छ ।