पर्वत २०७३ चैत ९ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र सिफारिस समितिले पर्वत जिल्लामा ७४ वटा मतदानस्थल तोकेको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ७४ मतदान स्थल तोकिएको हो । मतदान केन्द्र भने निर्धारण गर्ने तयारीमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । सबैभन्दा बढी कुश्मा नगरपालिकामा १७ र फलेवास नगरपालिकामा १४ वटा मतदानस्थल तोकिएको छ ।
जलजला गाउँपालिकामा १२, मोदी गाउँपालिकामा १० र विहादी गाउँपालिकामा सातवटा मतदानस्थल तोकिएको छ ।
यसैगरी, पैँयु गाउँपालिकामा सात, महायिशला गाउँपालिकामा पनि सातवटै मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए ।
नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको संख्याका आधारमा मतदान केन्द्र तोक्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार पर्वतमा ९९ हजार ६ सय ७० मतदाता रहेका छन् ।
स्थानीय तहको निर्वाचनका लागि पर्वतमा १६ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।