स्वास्थ्य केन्द्रको स्तरोन्नती नगरिनाले निसीभूजी क्षेत्रका जनता मर्कामा !
बुर्तिवाङ २०७५ चैत ७ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज दुई जना गर्भवती महिलाहरुको शल्यक्रिया (सिजरियन डेलिभरी) बाट प्रसुती गराईएको छ । एकै दिन यस प्रणालीव्दारा दुईजना गर्भवती महिलालाई प्रसुती गराईएको यो सम्भवत: पहिलो घटना हो ।
दुबै गर्भवती महिलाहरुको नर्मल डेलिभरी हुने सम्भावना न्यून भएपछी तत्काल शल्यक्रिया गरी प्रसुती (सिजरियन डेलिभरी)गराईएको शल्यक्रियामा संलग्न डा दिलिप कोजुले ईबागलुङलाई जानकारी दिए । डा कोजुले स्वास्थ्य केन्द्रमा अपरेशन कक्षको सुविधा भएकोले प्रसुती पीडाबाट छट्पटिएका गर्भवती महिलाहरुको शल्यक्रिया गर्न सकिएको बताए ।
गर्भमै बच्चा मरेकोले बिहान ४ बजे शल्यक्रिया गरेकी निसीखोला गाउपालिका ५ की वर्ष २८ की मायाँ घर्तीको अवस्था सामान्य रहेको र अर्की तमानखोला गाउँपालिका ३ बोँगादोभानकी वर्ष २० की महिलाको प्रसुतीको म्याद १४ दिन काटेकोले शल्यक्रिया गरी बच्चा निकालेको डा कोजुले बताए । दुई आमा र एक बच्चाको अवस्था सामान्य रहेको पनि उनले बताए ।
डा कोजु नेतृत्वको टीमले दुवै गर्भवगी महिलाहरुको सफल शल्यक्रिया गरेर प्रसुती गराएको सुखद घटनाले निसीभूजी क्षेत्रमा यसको सकारात्मक सन्देश प्रवाह भएको छ । शल्यक्रिया टिममा डा कोजुका साथ ओटी नर्स शान्ति पौडेल र एनेस्थेसियन विवेकानन्द यादव रहेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण सँगै जिल्ला अस्पतालको रुपमा सन्चालन गरिने व्यापक प्रचार गरिएको स्मरण गर्दै आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था हुँदा समेत स्थानीय, प्रदेश र संघीय सरकारको यस स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा ध्यान नगएकोमा निसीभूजी क्षेत्रमा लाखौ जनतामा निराशा छाएको छ । बागलुङ जिल्लाका बडीगाड देखि पश्चिम, गुल्मी जिल्ला र रुकुम जिल्लाका समेतका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा सरोकारवाला निकायले चासो नराखेकोमा यस क्षत्रका जनताले आफुहरु उपेक्षित अनुभव गरेको बताई रहेका छन् ।
१५ शैयाको अस्पतालको लागि चाहिने आवश्यक भौतिक पूर्वाधार (संरचना) हुँदा हुँदै पनि स्वास्थ्य केन्द्रको स्तरोन्नति नगरिनु विशेषज्ञ चिकित्सकहरु लगायत अन्य स्वास्थ्यकर्मीहरुको दरबन्दी व्यवस्थापन नगर्नु निसीभूजी क्षेत्रका जनता मर्म र आवश्यकतालाई संवेदनशीलरुपमा सरोकारवालाहरुले नलिएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।