डम्मर बुढामगर, बागलुङ २०७५ चैत ११ । श्री स्वस्थानी ब्रत कथा पुस्तकमा क्रिश्चियन धर्मको प्रचार गरिएको चर्चा बाहिर आएपछी जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत केशव लामिछानेको नेतृत्वको टोलीले सदरमुकाम बागलुङ बजारका पुस्तक पसलहरु अनुगमन गरेको छ ।
श्रीस्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री कार्यालयले पुस्तक अनुगमनको निर्देशन आएपछि बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले ईबागलुङलाई जानकारी दिए ।
आजै जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रजिअ खरेलको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले पुस्तक पसलहरु अनुगमन गरी बास्तविकता बुझ्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार आज दिउसो बागलुङ सदरमुकामस्थित १७ पुस्तक पसलहरु अनुगमन गरिएको प्रशासकीय अधिकृत एवं अनुगमन टोलीका प्रमुख लामिछानेले ईबागलुङलाई जानकारी दिए । उनले अनुगमनका क्रममा पुस्तक पसलहरुमा ६९ प्रति श्री स्वस्थानी ब्रत कथाका पुस्तकहरु भेट्टिएको र त्यस्मा हेर्दा क्रिश्चियन धर्मबारे विज्ञापन प्रचार केहि नभेट्टिएको बताए । टोलीले पुस्तकहरुको मुल्य बृद्धि एवं अश्लील पुस्तकहरु बिक्रीमा राखिए नराखिएका पनि अनुगमन गरेको थियो । अनुगमन टोलीमा बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मन्चका प्रतिनिधी, पत्रकारको सहमागिता रहेको थियो ।