सुमन सुनार, बुर्तिबाङ २०७५ चैत १३ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सोमबार देखि सुरु भएको परिवार नियोजन सेवाको स्थायी बन्ध्याकरण मिनिल्याप र भ्यासेक्टोमी सिविर तथा अस्थायी परिवार नियोजन सम्बन्धी दुई दिने निशुल्क सिविर मंगलबार सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा सुनौलो परिवार नेपालको व्यवस्थापकिय सहयोगमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सिविर सञ्चालन गरिएको थियो । २ दिन सम्म सञ्चालित उक्त सिविरबाट २७ जना महिला तथा पुरुष दम्पत्तीले सेवा लिएका छन् । जस अन्तर्गत आफुलाई चाहे जती सन्तान प्राप्त भैसकेपछि बच्चा जन्माउन नचाहने १३ जना महिला तथा पुरुष दम्पतीले स्थायी बन्ध्याकरण गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्ण हरी श्रेष्ठले जानकारी दिए । ती मध्य ३ जना महिलाले मिनिल्याप गरेका छन् भने १० जना पुरुषले भ्यासेक्टोमी गरेका छन् । त्यसैगरी १४ जनाले लामो समय अवधीको अस्थायी परिवार नियोजन (ईमप्लान्ट) गरेका छन् ।
परिवार नियोजनका साधनको वितरण र प्रयोग दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरु लगायत सवैको पहुचमा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको सिविरमा सुनौलो परिवार नेपालका डा. राम नरेश यादव सहितका ७ जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा प्रदान गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जिल्लाका विभिन्न स्थानिय तहमा स्थायी बन्ध्याकरण मिनिल्याप र भ्यासेक्टोमी तथा लामो अवधीको अस्थायी परिवार नियोजनको सिविर सञ्चालन गर्दै आएको छ । उक्त सिविर गत ७ र ८ गते जैमिनी नगरपालिकाको कुस्मीसेरामा, ९ र १० गते गल्कोट नगरपालिकाको हटिया बजारमा समेत सम्पन्न भैसकेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।