बागलुङ २०७५ चैत १८ । बागलुङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्तिपूण मर्यादितरुपमा सम्पन्न भएको छ । बागलुङ जिल्लाका ३१ परीक्षा केन्द्रहरु मध्य बिद्यामन्दिर माबि केन्द्रमा भने प्राविधिक धारका १६९ जना बिद्यार्थीहरुको परीक्षा यहि चैत २१ गते सम्म सन्चालन हुने जनाईएको छ ।
परीक्षाको अन्तिम दिन आज विहान माध्यमिक शिक्षा परीक्षा समन्वय समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले स्थानीय न्यू एभरेष्ट आवासीय माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा परीक्षा मर्यादित रुपमा सन्चालन भएको पाँईएकोमा केन्द्राध्यक्ष प्रधानाध्यापक कृष्णबहादुर अधिकारी सहित परीक्षामा संलग्न टोलीलाई धन्यवाद दिईएको प्रजिअ खरेलले ईबागलुङलाई जानकारी दिए ।
निरीक्षणका क्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्याय र जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्त समेतको सहभागिता रहेको थियो ।
निरीक्षण पश्चात प्रजिअ खरेलले परीक्षा सम्पन्न भएपछी उत्तरपुस्तिकाहरु सुरक्षित एवं विश्वसनीय तवरले सम्वन्धित निकायमा बुझाउन पठाउन सफल हुने विश्वास समेत व्यक्त गरेका थिए ।
विगतका माध्यमिक शिक्षा परीक्षाको तुलनामा यस वर्षको परीक्षा अपेक्षाकृत मर्यादित एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख उपाध्यायले ईबागलुङलाई बताए ।