कमल पौडेल,बडगाड, बागलुङ २०७५ चैत १९ । बडीगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा स्थानिय ३ सय ५६ जना कृषकहरुलाई १५ क्वीन्टल मकैको विउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत भूमि व्यावस्थापन तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशबाट बडीगाड गाउँपालिका मार्फत प्राप्त ५० प्रतिशत अनुदानमा मनकामना ३ जातको मकैको विउ वितरण गरिएको हो ।
जलजलालाई मकै पकेट क्षेत्रको रुपमा विकास गरि अर्को वर्ष ५० क्वीन्टल विउ निर्यात गर्ने लक्ष्य सहित काम सुरु गरिएको मकैपकेट क्षेत्र संचालन समिति जलजलाका अध्यक्ष झविन्द्र वुढाथोकीले ईबागलुङलाई जानकारी दिए । कृषि ज्ञान केन्द्र पर्वतको सिफरिसमा जिल्लाकै जैमिनी नगरपालिका वडा नं. १० वाट सो विउ झिकाइ वितरण गरिएको वुढाथोकीले बताए ।
साविक जलजला गाविसको वडा नं. १ देखि ५ सम्म को क्षेत्रमा सीमा किटान गरि सो कार्यक्रम संचालन गरिएको अध्यक्ष वुढाथोकीको भनाई छ । मकैपकेट क्षेत्रको लागि विनियोजित १० लाख रुपैयाँ मध्ये झण्डै ९० हजारको विउ आएको र वाँकी रकमको मकै खेति संग सम्बन्धित औजार खरिद गरिने वताइएको छ ।
यसै विच गत वर्ष बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको बडीगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडावाट २० क्वीन्टल विउ निर्यात गर्न सकिने भएको छ । दगातुन्डाडा कृषि समुहका अध्यक्ष भिमसेन वनका अनुसार यस वर्ष १५ क्विन्टल मनकामना ३ र ५ क्विन्टल देउकी जातको मकैको विउ विक्रि गर्ने गरि तयारी गरिएको हो । गत वर्ष ५ सय ४० केजि मुल विउ रोपिएको दगातुन्डाडा क्षेत्रमा यस वर्ष ८ क्वीन्टल मुल विउ रोप्ने तयारी गरिएको छ। दगातुन्डाडा क्षेत्रलाई ४ ओटा क्लष्टरमा विभाजन गरि ३ कलष्टरमा मनकामना ३ र एक कलष्टरमा देउती जातको विउ रोपिने र विउको शुद्धतालाई निकै ध्यान दिएको अध्यक्ष वनले जानकारी दिनुभएको छ।
ठूलो दाना सहित धेरै फल्ने देउती जातको मकै १५ सय मिटरसम्मको उचाइमा लगाउन सकिन्छ भने मनकामना ३ उच्च पहाडी क्षेत्रमा समेत उत्पादन गर्न सकिन्छ। बडीगाड क्षेत्रलाई मकैमा आत्मनिर्भर गराउँदै निर्यात गर्न सक्ने वनाउने भन्दै गत वर्ष गाउँपालिकाकै सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको थियो।