Sorry, that menu does not exist.
 

पर्वत साहित्य सङ्गमबाट पुरस्कृत तथा सम्मानित हुने साहित्यकारहरुको नाम सार्वजनिक !

निर्मल पौडेल, कुश्मा, पर्वत २०७५ चैत १९ । पर्वत जिल्लाको सबैभन्दा पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफूमार्फत प्रदान गरिने विभिन्न ६ वटा साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्ने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । सङ्गमको चैत्र १७ गते बसेको कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गरी उक्त पुरस्कारहरुको घोषणा गरेको हो ।

पुरस्कार तथा सम्मानका लागि चयन भएका स्रष्टाहरुमा पर्वतका शान्तिनारायण श्रेष्ठ, कृष्णादेवी शर्मा श्रेष्ठ र प्रकृति शर्मा, बागलुङका प्रेम छोटा र काजी रोशन एवम् म्याग्दीका ध्रुबलाल शर्मा रहेका छन । दशहजार राशी रहेको पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार बागलुङका अग्रगन्य साहित्यकार प्रेम छोटालाई अर्पण गरिने भएको छ भने दशहजार राशीको मान–पदम स्मृति साहित्यिक पुरस्कार बागलुङकै अग्रज साहित्यकार काजी रोशनलाई समर्पण गरिने भएको छ ।

यसैगरी दशहजार राशीको डिल्ली–राधा साहित्यिक पुरस्कार पर्वतका अग्रगन्य स्रष्टा शान्तिनारायण श्रेष्ठलाई र दशहजार राशीकै नमुना शिक्षा तथा साहित्यिक पुरस्कार हाल नवलपरासीमा रहेर साहित्य साधनारत नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई अर्पण गरिने भएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।

दशहजार राशीको गोपी–नन्द स्मृति साहित्यिक पुरस्कार म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मालाई समर्पण गर्ने निर्णय भएको पर्वत साहित्य सङ्गमका सचिव खेमराज शर्मा चापागाईंले जानकारी दिए । यसैगरी पाँचहजार राशीको संस्कृति बालप्रतिभा पुरस्कार पर्वतकी बालप्रतिभा प्रकृति शर्मालाई प्रदान गरिने भएको छ ।

प्रत्येक दुई बर्षमा प्रदान गरिने यी पुरस्कारहरु यसअघि २०७२ सालमा पर्वतका स्रष्टा साधना प्रतीक्षा, सदानन्द अभागी, बालप्रतिभा अमन पौडेल, बागलुङका भूपिन र म्याग्दीका भक्त कार्कीलाई समर्पण गरिएको थियो ।

घोषित पुरस्कार मध्ये पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कारको स्थापना पर्वत साहित्य सङ्गमले गरेको हो भने मान–पदम स्मृति साहित्यिक पुरस्कारको स्थापना सङ्गमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले आफ्ना हजुरबुवा–हजुरआमाको स्मृतिमा गरेका हुन ।

यसैगरी डिल्ली–राधा साहित्यिक पुरस्कारको स्थापना सङ्गमका उपाध्यक्ष डिल्लीराम शर्माले र नमुना शिक्षा तथा साहित्यिक पुरस्कारको स्थापना कुस्मास्थित नमुना आवासीय माविले गरेको हो । यसैगरी गोपी–नन्द साहित्यिक पुरस्कारको स्थापना सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले आफ्ना बुवाआमाको स्मृतिमा र संस्कृति बालप्रतिभा पुरस्कारको स्थापना सङ्गमका आजीवन सदस्य सुशिल थकाली अनुरागीले गरेका हुन । यी सबै पुरस्कारहरुका लागि पर्वत साहित्य सङ्गममा तीन लाख राशीको अक्षयकोष स्थापना गरिएको छ ।

बर्ष २०७४ का लागि सार्वजनिक पुरस्कारहरु आगामी बैशाख महिनाको दोस्रो हप्ता कुस्मामा आयोजना गरिने भब्य समारोहमा स्रष्टा सर्जकहरुलाई समर्पण गरिने तयारी गरिएको पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिए। यस अघि इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री र राजेन्द्र पहाडी रहेको स्रष्टा चयन समितिले सिफारिस गरेबमोजिम कार्यसमितिको बैठकले पुरस्कृत हुने व्यक्तित्वहरुको नामलाई अनुमोदन गरेको कोषाध्यक्ष मीना गुरुङले बताएकी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply