बुटवल, २०७५ चैत २६ । “सामन्ती, साम्राज्यवादी संस्कृतिको विरोध गरौं, रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला सफल पारौं” भन्ने मूल नाराको साथ रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेलाको बुटवलमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
उक्त भेलाको उद्घाटन अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मीले एक कार्यक्रमकाबीच मैनबत्ती बालेर गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रेग्मीले देशका हरेक परिवर्तन र क्रान्तिकारी आन्दोलनहरुमा रक्तिम साँस्कृतिक अभियानको महत्वपूर्ण भूमिका रहेको बताए । साथै उनले अभियानलाई बैचारिक र संगठनात्मक रुपमा अझै सशक्त बनाएर लैजानुपर्ने भन्दै राष्ट्रिय भेलाको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा समसामयिक राजनीतिक सन्दर्भमा बोल्दै प्रमुख अतिथि रेग्मीले वर्तमान राज्य व्यवस्थाबाट नयाँ जनवादी व्यवस्था तथा समाजवादी व्यवस्थाको कुनै आशा गर्न नसकिने बताए । अहिले देशमा राजतन्त्र ब्युत्याउनका लागि राजावादी तथा देशी विदेशी तत्वहरुको चलखेल र राष्ट्रघाती नागरिकता विधेयकका कारण देशको राष्ट्रियतामा नै गम्भीर खतरा सिर्जना भएको उनको भनाई थियो ।
त्यसैगरी रक्तिम साँस्कृतिक अभियान राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीले कार्यक्रममा बोल्दै तीन दशकभन्दा लामो इतिहास बोकेको रक्तिम साँस्कृतिक अभियानले साँस्कृतिक आन्दोलनको माध्यमबाट आम शोषित पीडित जनतालाई वैचारिक रुपमा सचेत गराउँदै देश परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । साथै उनले आगामी दिनमा थप जिम्मेवारी संगठनका काँधमा आएकाले अभियानलाई अझै सशक्त बनाएर लैजाने बताए ।
कार्यक्रममा बामपन्थी नेता कृष्ण पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी., अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, प्रगतिशिल लेखक संघ नेपालका केन्द्रिय सचिव बाबुराम आचार्य, प्रगतिशिल पत्रकार संघका लोकेन्द्र सुनार, राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीका सचिव दिपक पौडेल, अखिल नेपाल जनजाति संघ रुपन्देहीका अध्यक्ष बिमल श्रीष लगायतले उक्त राष्ट्रिय भेलाको सफलताको शुभकामना दिएका थिए ।
वि.सं. २०४२ साल चैत्र २६ गतेका दिन स्थापना भएको रक्तिम सांस्कृतिक अभियानले प्रगतिशिल गीत संगीतको माध्यमबाट आम शोषित पीडित जनताहरुलाई सांस्कृतिक आन्दोलनको माध्यमबाट सचेत बनाउँदै देशव्यापी अभियान संचालन गर्दै आइरहेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त राष्ट्रिय भेलामा देशभरका विभिन्न जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षेकहरुको सहभागिता रहेको छ । चैत्र २५ र २६ गरि २ दिनसम्म सम्पन्न हुने भेलाले नयाँ नेतृत्व चयन गर्ने भेला आयोजक समितिका सदस्य जीवन शाहीले बताए । यस अघि फागुन १,२ र ३ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन संगठनको विविध आन्तरिक कारणले सम्पन्न हुन नसकेपछि सम्मेलन स्थगित भएको थियो । त्यसपछि लगत्तै भेला आयोजक समिति गठन गरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
आज कार्यक्रमको उद्घाटन सत्र समापनपछि बन्दसत्र सुरु भइरहेको छ । बन्दसत्रमा संगठनको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरिनुका साथै देशका विभिन्न जिल्लाहरुबाट रिपोर्टिङ र छलफल गरिनुका साथै संगठनको आगामी नीति तथा कार्यक्रम निमार्ण सहित नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीको अध्यक्षता र रेम रानाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन जीवन शाहीले गरेका थिए ।
वर्तमान राज्य व्यवस्थाबाट नयाँ जनवादी तथा समाजवादी व्यवस्थाको आशा गर्न सकिदैन : अध्यक्ष रेग्मी
२०७५ चैत्र २६, मंगलवार १८:३१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७६ पुष १२, शनिबार २०:३४
सञ्चारकर्मी सरु सुनारको जीवनः मलेसियाको मजदुरी देखि अन्तर्राष्ट्रिय अवार्ड सम्म
२०७६ भाद्र ९, सोमबार १५:५१