निर्मल पौडेल, पर्वत (कुस्मा) २०७६ वैशाख ४ । नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएतको विरोधमा जिल्ला प्रसाशन कार्यलय पर्वतमा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरे संगै पत्रकार महासंघ पर्वतले पनि घोर विरोध गर्दै धर्ना दिएको हो । विधुतीय कारोवार ऐन दफा ४७ र ४८ खारेज गर ! विधुतीय अपराधको तरवार नदेखाऊ ! पत्रकार हरुको पेशा लेख्ने हो लेख्न पाउनु पर्छ ! भन्ने मुल नारा अंकित कालो व्यानर सहित पर्वतका पत्रकारहरुले विरोध प्रर्दशन गरेका हुन् । पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै आन्दोलन गरेको हो।
विरोध कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पत्रकारलाई विद्युतीय कारोबार ऐन र उक्त दफा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई परास्त बनाउने काम बढेपछि महासंघले आन्दोलन गर्न बाध्य भएको वताए । तिवारीले अर्जुन गिरी लगायतका पत्रकारहरुलाई रिहा गर्न र दफा सच्याउन जोडदार माग गर्दै सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
विरोध कार्यक्रममा जिल्लाका सम्पुर्ण सञ्चार माध्यमका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । महासंघको केन्द्रीय समितीले जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र गृह संगै सञ्चार मन्त्रालयमार्फत विरोधपत्र वुझाउने कार्यक्रम तय गरेको छ ।