हेम विश्वकर्मा, बडीगाड ९सिसाखानी० २०७६ बैशाख १५ । बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी किम्लेस्थित ओखरबोट आमा समुहको सक्रियतामा भवन निर्माण कार्य सम्पन्न भएको छ । स्थानियको जनश्रमदान तथा वडा कार्यालयलको रु. २ लाख आर्थिक सहयोगमा समुहले सामुदायिक भवन निर्माण गरेका हुन् ।
भवन निर्माणका लागि आमा समूहको नेतृत्वमा साबिक वडा नं १ का प्रत्यक घर कुरियाले ८० प्रतिशतको हाराहारीमा जनश्रमदान दिएको समुहकी अध्यक्ष ललिता रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सो बस्तीमा लगभग ६५ घरधुरीको बसोबास रहेको छ ।
भवन सम्पन्न भएसँगै अनुगमनका लागि पुगेका सोही वडाका वडा अध्यक्ष खडक पुनले समुहको काम आफ्नो वडा भित्रका योजनामध्यकै उत्कृष्ट भएको भन्दै प्रसंसा ब्यक्त गरेका थिए ।
गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागि समेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो । झन्डै तीस जना महिला आबद्ध रहेको सो आमा समूहले गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएको छ ।
मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले आगमी दिनमा महिला सशक्तिकरण, घरेलु हिंसा लगाएतमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको समुहकी सक्रिय सदश्य धनमायाँ पुनले जानकारी दिए ।