कमल पौडेल, बडीगाड २०७६ बैशाख १६ । बडीगाड गाउँपालिकाले जेठको दोश्रो साता सम्म सवै योजना सक्ने गरि कार्यक्रम तय गर्दै तोकिएको समयमा योजना सम्पन्न नगरेमा भुक्तानी नदिने निर्णय गरेको छ । प्रत्यक महिनाको १५ गते बस्ने गाउँ कार्यपालिकाको हिँजो आइतवार वसेको कार्यपालिकाको बैठकले जेठ १५ पछिको कुनै पनि योजनाको भुक्तानी सदर नगर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको हिँजोको बैठकले बडीगाड गाउँपालिकाका गौरवका योजनाको रुपमा प्रशासनिक भवन, २ ओटा सडक, २ ओटा आकाशे पुलको डिपिआर सम्पन्न गर्ने, गाउँपालिकाको लागी आवश्यक तिन प्रकारका हेवि इक्वीपमेन्ट खरिद गर्ने लगाएतका निर्णय पनि गरेको छ ।
गाउँपालिकाले प्रस्तावमा ल्याएको शिक्षा ऐनमा प्राप्त संशोधन प्रस्ताव माथि पनि बैठकमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले ईबागलुङलाई बताए ।
गाउँपालिका भित्रका विद्यालय मर्जिङ र दरबन्दी मिलानको तयारीको लागी कार्यसमितिको गठन गर्ने निर्णय गरेको समेत प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख तथा वडा नं. ३ का अध्यक्ष खड्क पुनको संयोजकत्वमा समिति गठन गरिएका छ । समितिको सदस्यको सदस्यहरुमा वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, कार्यपालिका सदस्य मिना रायमाझी र सदस्य सचिवमा शिक्षा अधिकृत कृष्णराज रेग्मी रहेका छन् । सो कार्य सम्पन्न गर्न ढालमणि भण्डारी, सागर खरेल, बेद प्रसाद पोखरेल, केशव खरेल, नेत्र गौतम, कुल बहादुर बुढा, जित बहादुर थापा र शिक्षक महासंघका २ जना प्रतिनिधि रहेको परिचालन समितिको गठन गरेको छ ।
बैठकले शिक्षा समितिले सिफारिस गरेको ३ विद्यालयलाई कक्षा थपको अनुमति दिने निर्णय गरेको छ । बैठक गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।